बैशाख ५ – संयुक्त राज्य अमेरिकाको बोस्टन सहरमा सोमबार भएको बमकाण्डमा सहभागी हुने एकजनाको शङ्कास्पद व्यक्तिको तस्बिर अमेरिकी प्रहरीले पत्ता लगाएको छ ।
म्याराथन दौडको सुरुवातको समयमा भएको बम विस्फोटनका अपराधीको खोजीलाई अमेरिकी प्रहरीले घटनाको लगत्तै पछिदेखि नै तीव्र बनाएको थियो ।
अहिलेसम्म कसैले पनि सो हमलाको जिम्मेवारी नलिएकाले प्रहरीलाई पनि हत्यारा पत्ता लगाउने निकै गाह्रो भएको थियो । प्रहरीले सहयोगका लागि सर्वसाधारण सबैसमक्ष आग्रह पनि गरेको थियो ।
मङ्गलबारसम्म पनि सो बम विस्फोट गराउने अपराधीको पत्तो लागेको थिएन । प्रहरीले बुधबार एक संदिग्ध व्यक्तिको तस्बिर पत्ता लगाई त्यसबारेमा आवश्यक गृहकार्य गरिरहेको बताइएको छ ।
सो घटनाको अनुसन्धान गरिरहेको एफबिआइले उक्त तस्बिरमा देखिएको नागरिकको खोजीलाई तीव्र बनाएको छ । सो तस्बिर सार्वजनिक गर्ने वा नगर्ने भन्नेबारेमा आवश्यक परामर्शमा प्रहरी रहेको पनि समाचारमा जनाइएको छ ।
सुरुमा प्रहरीले सो बम हमला अल कायदा एवम् अन्य कुनै आतङ्कवादी समूहबाट भएको आशङ्का गरेको थियो । तरपनि त्यसको कुनै प्रमाण भेट्न सकिएको छैन ।
उक्त विस्फोटमा परी कम्तीमा पनि तीनजना नागरिकको ज्यान गएको थियो । सो दुर्घटनामा परी १८० जना घाइते भएका बताइएको छ । खेलको सुरुवातका क्रममा उक्त विस्फोट भएको बताइएको छ ।
अनुसन्धानमा सहभागी प्रहरीका अनुसार पछिल्लो जानकारीमा सो हमला आतङ्कवादीले नै गराएको अनुमान छ । आक्रमणमा प्रहरीले एउटा प्रेसर कुकर बम विस्फोट गराएको पाइएको पनि जनाइएको छ ।
अमेरिकामा सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भीषण आतङ्ककारी हमला भएकोले सोमबारको यो घटनापछि पनि सम्भावित त्यस्तै आक्रमणको त्रासले त्यहाँ उच्च सुरक्षा सतर्कता अपनाइएको बताइएको छ ।