बैशाख ५ – झापाको दुहागढीमा एउटाले गाईले अनौठो दुई मुख, चार आँखा र दुई नाक भएको बाच्छो जन्माएपछि त्यसलाई हेर्न आउनको भीड नै लागेको छ ।
एक गाईले उक्त अनौठो स्वरूपको बाछो जन्माएपछि पूजा गर्ने र रमिता हेर्नेको घुइँचो लागेको हो ।
दुहागढी–७ का चन्द्र काफ्लेको घरमा पालेको गाईले मङ्गलबार दुई मुख, चार आँखा र दुई नाक भएको बाछो जन्माएको हो ।
भगवान शिवको अवतार भन्दै स्थानीय बासिन्दाले अगरवत्ती बालेर बाछोलाई फूल तथा पैसा चढाउने गरेका छन् ।
अनौठो बाछो हेर्न चारआली, चन्द्रगढी, धुलाबारी र विर्तामोडदेखि मानिसहरू आउन थालेको स्थानीय राजेन्द्र पौडेलको भनाई छ ।
दोस्रो बेतको गाईले जन्माएको सो बाछो स्वस्थ रहेको छ । टाउको भारी भएको हुँदा बाछो आफै उभिन सक्दैन । गाईधनी काफ्लेले बाछोको दुवै मुख गाईको फाचोमा लगेर दूध खुवाउने गरेका छन् ।
बाछोको दुवै मुखले दूध चुस्छ भने सास फेर्न नाकका चारवटै प्वाल र हेर्नका लागि चारवटै आँखा सक्रिय रहेका छन् ।