चुनौती र अवसरको चाङ बोकी प्रचण्ड चीन प्रस्थान

बैशाख १ – बैशाख १ – एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आइतबार एक साता लामो चीन भ्रमणमा निस्किएका छन् ।

अध्यक्ष प्रचण्ड बिहान साँढे ११ बजे एअर चाइनाको विमानबाट चीनको दक्षिण
पश्चिम सहर छेदुङका लागि पत्नी सीता र स्वकीय सचिव चुडामणी खड्कासहित
प्रस्थान गरेका छन् ।

चीन प्रस्थान गर्नुअघि त्रिभुभवन बिमानस्थलमा
सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफ्नो चीन भ्रमण पूर्ण रुपमा पारदर्शी
हुने दाबी समेत गरे । सञ्चारकर्मीहरुसँग उनले भ्रमणबाट फर्किएपछि सम्पूर्ण
कुराको जानकारी गराउने बताए ।

नयाँ वर्षको पहिलो दिन अनि चिनियाँ नयाँ नेतृत्वको ठिक महिना दिन चीन जाँदै गरेका प्रचण्डको यस भ्रमणलाई निक्कै महत्वका साथ हेरिएको छ ।

चीनले पनि नेपालका लागि स्थायी नेतृत्व खोजी रहेको बेला अनि तिब्बत मामिलामा निक्कै सजकता अपनाइरहेको बेला चीनमा नयाँ सरकार परिवर्तनपछि अनि नेपालमा संक्रमणकालका बीच उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका अवस्थामा चीन प्रस्थान गरेका प्रचण्डसँग हुने वार्ता यसै पनि महत्वपूर्ण हुने विश्लेषण गरिएको छ ।

सो अवसरमा चीन र नेपालबीच पछिल्लो राजनीतिक अवस्था र दुई देशबीचको सम्बन्धको अवस्था बारे कुरा उठ्ने बताइएको छ ।

चीनमा नेतृत्व परिवर्तनपछि सीपीसीको निमन्त्रणामा चीन भ्रमण गर्ने व्यक्तिमा प्रचण्ड पहिलो दक्षिण एसियाली नेता हुन पुगेका छन् ।

भ्रमणका क्रममा दाहालको राष्ट्रपति सी, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चपदस्थ नेतृत्वसँग भेटवार्ता गर्नेछन् । माओवादी शान्ति प्रक्रियामा आएपछि उनको यो चौथो चीन भ्रमण हो ।

देशमा संक्रमणकाल झन् झन् चुलिदै गएको अवस्थामा उनको यो भ्रमणबाट दुई देशबीच आर्थिक, सामामाजिक तथा राजनीतिक रुपमा उठाउन सकेमा सम्भवाना र अवसरको उत्तिनै ठूलो चांग छ भने पछिल्लो पटक एमाओवादी भारत परस्त हुँदै गएको भन्ने चर्चा चल्नु, त्यसैका कारण पार्टी फुट्नु जस्ता कारणले यो भ्रमणका चीनले उनलाई कति विश्वास गर्ने हो र कति विश्वास दिलाउन सक्लान त्यसमा चुनौती पनि उत्तिनै छ । 

यस्तो छ भ्रमण तालिका

वैशाख १ गते बिहान दाहालको टोली एयर चाइनाको विमानबाट चीनको दक्षिणपश्चिम सहर छेङदु उठेपछि अर्को दिन उनले सिचुवान विश्वविद्यालयका विद्वान्, प्राज्ञ तथा विद्यार्थीसँग अन्तक्रिर्या गर्नेछन् । उसै दिन दाहालले चीनको आधुनिक कृषि प्रणालीको अवलोकन गर्ने कार्यक्रम छ ।

३ वैशाखमा बेइजिङ आइपुग्ने उनले ५ गते बिहीबार चिनियाँ कम्युनिस्ट पार्टी महासचिव तथा राष्ट्रपति सी जिनपिङलगायत अन्य उच्च नेताहरूसँग भेटवार्ता गर्ने तय छ । भोलिपल्ट दक्षिणी चीनको व्यापारिक सहर सेन्जेन आइपुग्ने उनले त्यहाँका केही महत्त्वपूर्णस्थल अवलोकन गर्नेछन् । सन् १९७९ मा देङ स्याओपिङले सेन्जेनलाई सबैभन्दा पहिलो नमुना सहरका रूपमा ‘विशेष आर्थिक क्षेत्र’ घोषित गरेका थिए ।

वैशाख ७ गते शनिबार दाहालसहितको टोली हङकङ हुँदै नेपाल फर्कने आजको कान्तिपुरले लेखेको छ । सानो भ्रमण टोलीमा दाहाल पत्नी सीता, स्वकीय सचिव तथा केन्द्रीय सदस्य चूडामणि खड्का, सन्तु दराई र अंगरक्षक दानबहादुर मल्ल हुनेछन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।