२५ चैत – दक्षिण कोरिया र अमेरिकाको कारण आफ्नो देश नचाहेर पनि युद्धमा प्रवेश गरेको घोषणासँगै कोरिया युद्धको खतरा बढीरहेको बेला चीनले भने अमेरिकालाई सहयोग गर्न नसकिने संकेत गरेको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आइतबार एसियाले आफ्नो स्थायित्वका लागि नयाँ चुनौती भोगेको बताउँदै उत्तर कोरियामा तनाव बढ्दै गएको अवस्थामा कसैलाई पनि यस क्षेत्रलाई अराजकतामा धकेल्न दिन नसकिने चेतावनी दिए ।

चीनको दक्षिणी द्वीप हाइनानमा एक अन्तर्राष्ट्रिय मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति सीले उक्त चेतावनी दिएको तर उनले कोरियाली प्रायद्वीपमा सङ्कट तथा चीनको जापान तथा दक्षिण कोरियासँगको क्षेत्रीय विवादका विषयमा भने बोलेनन् ।

उनले व्यक्तिगत फाइदाका लागि अराजकता वृद्धि गर्न चाहनेलाई सहन नसकिने पनि उल्लेख गरेका छन् ।

उत्तर कोरियाले पछिल्लो पटक पारमाणविक परीक्षण गरेपछि संयुक्त राष्ट्र सङ्घले यस मुलुकमाथि थप प्रतिबन्ध लगाएको थियो भने यसपछि अमेरिका तथा दक्षिण कोरियाले युद्धअभ्यास गरेपछि उत्तर कोरियाले पारमाणविक युद्धको चेतावनी दिँदा यस क्षेत्रमा तनाव बढेको छ ।

राष्ट्रपति सीले एसियामा स्थिरता कायम गर्न प्रमुख बाधा हटाउन एकीकृत प्रयास गर्नुपर्ने भन्दै परम्परागत तथा अपरम्परागत सुरक्षाका चुनौती विद्यमान भएको तथा एसियाको स्थायित्वमा नयाँ चुनौती देखिएको औल्याए ।

चीन परम्परागत रुपमा उत्तर कोरियाको नजिकको राजनीतिक सहयोगी हो र उसले सन् १९५० देखि १९५३ सम्मको युद्धमा उत्तर कोरियाको साथ दिएको थियो । बेइजिङ प्योङयाङको सबैभन्दा ठूलो व्यापारी साझेदार पनि हो ।

यसैबीच, जापानले आफ्ना सशस्त्र सेनालाई आफ्नो क्षेत्रतर्फ उत्तर कोरियाली क्षेप्यास्त्र प्रक्षेपण भएको देखे प्रत्याक्रमण गरी खसाउन आदेश दिने भएको समाचार येमियुरी समाचारपत्र तथा जिजी समाचार संस्थाले आइतबार दिएका छन् । यसबीच प्योङयाङले यस्तो आक्रमणको तयारी गरिरहेको समाचार प्राप्त भएका छन् ।

यस्तो आदेश प्रतिरक्षामन्त्री इत्सुनोरी ओनोदेराले दिने समाचारमा जनाइएको छ । सामान्य जनतामा अनावश्यक आतङ्क सिर्जना हुन नदिन यस सम्बन्धी आदेशलाई सार्वजनिक नगरिने समाचार क्योडो समाचार समितिले दिएको छ । यसका लागि यस समाचार संस्थाले सरकारी स्रोतलाई उद्धरण गरेको छ ।

आदेशमा समुद्रमा रहने क्षेप्यास्त्र पत्ता लगाउने उपकरण र क्षेप्यास्त्र नष्ट गर्न एजिज डिस्ट्रोयर प्रयोग गर्न निर्देशन दिइने बताइएको छ । यी उपकरण तथा क्षेप्यास्त्रलाई जापानी जलक्षेत्रमा तैनाथ गरिने बताइएको छ ।

दक्षिण कोरियाली आमसञ्चारले उत्तर कोरियाली मध्यम दुरीको दुई क्षेप्यास्त्रलाई ‘मोबाइल’ प्रक्षेपकमा राखेको र हाल ती प्रक्षेपकलाई पूर्वी तटीय क्षेत्रमा लुकाएर राखिएको समाचार दिएका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।