चैत २४ – चार राजनीतिक दलले देशलाई असंवैधानिक ढङ्गले अगाडि बढाएर तानाशाही र अधिनायकवादी शैली देखाएको भन्दै नेकपा–माओवादीले जनयुद्धको एक हिस्साको रुपमा रहेको आफ्नो पार्टीलाई वेवास्ता गरिए महँगो मूल्य चुकाउन तयार रहन चेतावनी दिएको छ ।

जनआन्दोलन दिवसको अवसरमा काठमाडौँको सहिदमञ्चमा आज आयोजित सभालाई सम्बोधन गर्दै सो पार्टीका अध्यक्ष मोहन वैद्य तथा अन्य देशका विभिन्न भागमा बोल्ने अन्य नेताहरुले यस्तो चेतावनी दिएका हुन् ।

राजधानीमा आयोजित सभामा वैद्यले चार दलको संवैधानिक हैसियत केही नभएको र उनीहरुले भएको हैसियत पनि कर्मचारीको हातमा बुझाइसकेको भन्दै हैसियत नभएका दलहरुले बोलाएको वार्तामा आफूहरु नजाने समेत बताए ।

अध्यक्ष वैद्यले चैत १ गते चार पक्षबीच भएको सहमति र सम्झौताको खारेज गरी सर्वदलीय गोलमेचसभा वा बैठकका माध्यमबाट संयुक्त राष्ट्रिय सरकार गठन गर्नुपर्ने मागलाई कार्यक्रममा दोहोर्याए ।

जनयुद्धको मुख्य शक्ति रहेको हाम्रो पार्टीलाई बेवास्ता गर्दै एमाओवादीका नेताहरुको सल्लाहमा काँग्रेस र एमाले चलेका छन् उनीहरुले पनि महङ्गो मूल्य चुकाउनुपर्नेछ सभामा बोल्दै उनले भने ।

उनले राष्ट्रियताको संरक्षणका लागि देशभक्त र राष्ट्रवादीहरुको संयुक्त मोर्चा बनाएर अगाडि बढ्न आवश्यक रहेको भन्दै सबै पार्टीमा रहेका देशभक्तहरुलाई आफ्नो आन्दोलनमा सहभागी हुन आग्रह पनि गरेका छन् ।

नागरिकताका विषयमा सचेत हुन आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष वैधले वास्तविक नेपाली नागरिकले नागरिकताका नपाउने र विस्तारवादका मतियारहरुले नागरिकता पाउने अवस्थाले देश सिक्किमीकरणको दिशातर्फ अगाडि बढिरहेको टिप्पणी पनि गरे ।

उनले आफूहरुको सहमतिबिना बन्दुकको वलमा निर्वाचन गर्न खोजिए त्यसलाई जस्तोसुकै मूल्य चुकाएर असफल पार्ने चेतावनी समेत दिएका छन् ।

कार्यक्रममा पार्टीका महासचिव रामबहादुर थापाले २०७० साल क्रान्तिको निर्णयक वर्ष हुने उद्घोष गर्दै सो क्रान्तिले सामन्तवाद र नोकरशाही दलाल वर्गको अन्त्य गरी स्वाधिनतासहितको नयाँ नेपाल निर्माण गर्ने जनाए ।

अहिले जातियताको कुरा गर्दै जनता लडाउने खेल भइरहेको भन्दै सङ्घीयताभन्दा राष्ट्रियता प्रमुख बनाएर अगाडि बढ्न आवश्यक रहेको उनको भनाई छ ।

माओवादी नेताको सुरक्षामा राखिएको हतियार बुझाउन सरकारले दिएको समयसिमाप्रति सङ्केत गर्दै उनले भनेका छन्, “ती नपड्कने थोत्रा हतियार लगे हुन्छ, हाम्रा लागि नयाँ हतियार कारखानामा बन्दै छन् ।”

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।