चैत २४ – आफ्नै परिवारबाट दाइजोका विषयमा आगो लगाएर जलाइएकी सप्तरीकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

बिहेमा दाइजो कम ल्याएको भन्दै आफ्नै पति र अन्य परिवारका सदस्यले जिउमा आगो लगाई घाइते बनाइएकी सप्तरी जिल्ला डिमन–३ की ३५ वर्षीया संयुक्ताकुमारी देवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

परिवारबाट पटक पटक शारीरिक तथा मानसिक यातना खेप्दै आएकी उनको करिब ९० प्रतिशत शरीर जलेका कारण बचाउन नसकिएको चिकित्सकहरुको भनाई छ ।

मृतकका बुबा जामुनप्रसाद चौधरीले दाइजोको निहुँमा छोरीका श्रीमान् शिवकुमार देव, देवर विनयकुमार देव र अशोककुमार देव तथा देउरानी कविता देवको मिलेमतोमा हत्या गरिएको भन्दै प्रहरीमा उजुरी हाले पनि परिवारले भने आगो जिउमा सल्कदा घटना घटेको बताएका छन् ।

उपचारमा आफन्तजनबाट ढिलासुस्ती र हेलचेक्र्याई गरेको कारण मृत्यु भएको बताउँदै धरानस्थित चिकित्सकले थप उपचारका लागि अन्य स्थानमा पठाएको भए पनि आफन्तजनले उपचारका लागि अन्यत्र नलगेपछि उनको मृत्यु भएको माइती पक्षले आरोप लगाएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।