बानेश्वरस्थित सेना समायोजन विशेष समितिको सचिवालयमा आज साँझ बसेको बैठकमा नेपाली सेनाको तालिममा रहेका केही लडाकुले तालिम छाड्न दिएको निवेदनलाई कसरी किनारा लगाउने भन्ने विषयमा पनि विचारविमर्श भएको छ ।
माओवादी सेनाका लडाकु रहेका सातवटा मुख्य शिविर र २१ वटा सहायक शिविरमा भएको आर्थिक अनियमितताको छानबिनको कुरा उठेको समितिका सदस्य डा मीनेन्द्र रिजालले जानकारी दिनुभयो ।
बैठकमा नेपाली सेनामा समायोजनका लागि तालिम लिइरहेका एक हजार ४६० जनामध्ये एक अधिकृतसहित ४२ जनाले तालिमकै क्रममा अलग हुन दिएको निवेदनलाई सहजताका साथ लिएर उनीहरुलाई के कस्तो आर्थिक प्याकेज प्रदान गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।
बैठकले नेपाली सेनाको तालिमबाट अलग हुन चाहने लडाकुहरुलाई के कति रकम उपलब्ध गराउने र शिविरमा भएको अनियमितता छानबिनका लागि कसरी अगाडि बढ्ने भन्ने बारेमा यही चैत ३० गते बस्ने बैठकबाट निर्णय गर्ने सहमति भएको पनि डा रिजालले जानकारी दिनुभयो । रासस






