चैत १४ – लागुपदार्थ गाँजा बरामद भएका एक यात्रुवाहक बससहित बसका तीन जना कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही थालेको छ ।

काँकडभिट्टाबाट धरानतर्फ गइरहेको को१ख १९२७ नम्बरको चन्द्रमा ट्राभल्सलाई बुट्टाबारीमा सशस्त्र प्रहरी बल सुरक्षा वेश शनिश्चरेबाट खटिएको टोलीले जाँचको क्रममा मङ्गलबार बेवारिसे अवस्थामा उक्त बसबाट साढे ६ किलो गाँजा बरामद गरेको थियो ।

सो अभियोगमा बसचालक धरान–७ बस्नेहरु रामबहादुर विश्वकर्मा, सहचालक उमेश विश्वकर्मा र कन्डक्टर सविन राईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय विर्तामोडमा बुझाइएको सीमा सुरक्षा बलको कार्यालय भद्रपुरले जनाएको छ ।

यसका साथै सशस्त्र प्रहरीको गस्ती टोलीले भारतबाट अवैध रुपमा भित्रिएका रु एक लाख मूल्य बराबरका युरियामलसहित किराना सामान, सूर्तिलगायतका सामान बरामद गरेको छ ।

सो क्रममा मेचीनगरको सिमल, कुमरखोद गाविस–३ को लसुना र खजुरगाछि–२ को चिलहरा भन्ने स्थानबाट सामानहरु बरामद गरिएको बताइएको छ ।

बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा बुझाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।