काठमाडौँ, १० चैत । काठमाडौँको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालले २०६२/६३ को दोस्रो जनआन्दोलनमा कलङ्की क्षेत्रमा सहिद भएका परिवारलाई निःशुल्क स्वास्थ्य सुविधा दिने भएको छ ।

सो अस्पतालको छैठौँ साधरणसभामा आज दिइएको जानकारीअनुसार कलङ्की बाहेक अन्य ठाउँमा सहिद भएका परिवारलाई पनि स्वास्थ्य उपचारमा ५० प्रतिशत छुट दिइने बताइयो । कलङ्कीको सहिद स्मारक जनस्वास्थ्य सहकारी लिमिटेडले सो अस्पताल सञ्चालन गर्दै आएको छ ।

वि.स.२०६३ मा स्थापित सो अस्पतालको साधारणसभाको उद्घाटन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले राजनीतिक सहमतिको आधारमा बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रले नै निर्णयात्मक भूमिका खेल्ने बताउनुभयो ।

उहाँले सो अस्पतालमार्फत नागरिकको स्वास्थ्य सेवामा टेवा पु¥याउँदै आएर सहकारीले सराहनीय कार्य गरेको धारणा राख्नुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले सहरी क्षेत्रमा स्वास्थ्य सेवा सर्वसाधारण तथा निःसहायका लागि चुनौतीपूर्ण रहेको बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डा गणेशमान गुरुङले जनतालाई भरपर्दो स्वास्थ्य सेवा दिन अस्पताल व्यवस्थापन दृढ रहेको बताउनुभयो ।

सो सहकारी संस्थाका अध्यक्ष सोमनाथ अधिकारीले १०० शय्या रहेको सो अस्पतालले आफनो सेवालाई अझ विस्तार गर्दै लैजाने बताउनुभयो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।