नाटकिय सुधारपछि पारस यो हप्ता डिस्चार्ज हुँदै, डिस्चार्ज पछि सोझै नेपाल

स्वास्थ्य अवस्था सामान्य बन्दै गएपछि हृदयघातका कारण महिना दिनदेखि बैंककको एक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाह अबको एक सातामा डिस्चार्ज हुने भएका छन् ।

करिब अबको एक सातामा उनी अस्पतालबाट डिस्चार्ज भएपनि चिकित्सकहरुको सल्लाह अनुसार उनी केही दिन बैंककमै रहने र त्यसपछि उनी नेपाल फर्कने उनलाई त्यहाँ सहयोग गर्दै आएका एनआरएन थाइल्याण्डका महासचिव सुनिल खड्काले जनाएका छन ।

करिब महिना दिनअघि एक्कासी हृदयघात भएपछि उनको हप्ता दिन भन्दा बढी अस्पतालमा अचेत अवस्थामा उपचार गरिएको थियो । सुरुमा उनको अवस्थामा गम्भीर खालको भनेर चिकित्सकहरुले समेत बारम्बार भने पनि उनको स्वास्थ्यमा सुधार नाटकिय तरिकाले हुन गएको हो । उनको स्वास्थ्य अवस्थामा आएको सुधार देखेर चिकित्सकहरुले समेत आश्चर्य प्रकट गरेका थिए ।

अस्पतालमा उनको सुरुमा सिसियू र पछि आईसियु कक्षमा राखि उपचार गरिएको थियो ।

अस्पाताल भर्ना भएको ११ दिनपछि अचेतमुक्त भएका पूर्वयुवराज शाहलाई अस्पतालले डेढसाता अघि सामान्य वार्डमा सारेर उपचार गरेको थियो । स्वास्थ्य अवस्था अत्यन्तै नाजुक बनेपछि फेब्रुवरी १९ राति चिकित्सकले करीब ९० मिनेटको ‘मल्टी करेन्ट सक्स’ (करेन्टको तरंगबाट गरिने उपचार) लगायत उपचारविधिबाट उनलाई जोगाएका थिए ।

अहिले पारस शाह आफैले खाना खान थालेको र सामान्य हिँडडुल तथा कुराकानी समेत गर्न थालेका छन् । उनलाई चिकित्सकहरुले एक महिना बैंककमै आराम गर्न सुझाव समेत दिएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।