चैत ८, रासस – नेकपा (एमाले) का पोलिटब्युरो सदस्य रामचन्द्र झाले आज पार्टी अध्यक्ष झलनाथ खनाललाई एक पत्र पठाई पार्टीबाट आफू अलग भएको घोषणा गरेका छन् ।
एमालेले आफ्ना अडान, मान्यता र भावनालाई सम्बोधन गर्न नसकेको जनाउँदै नेता झाले यस अवस्थामा पार्टीमा रहनुको कुनै अर्थ नहुने बताए ।
नेता झाले रासससँग कुरा गर्दै आफूले औपचारिकरुपमै एमाले पार्टी छाडेको बताए ।
एमाले छाडेर एमाओवादीमा प्रवेश गर्ने तयारीबारे आएका समाचारलाई भने तत्कालै आधिकारिक नमान्न झाले आग्रह गरे ।
उनले भने – “मैले जीवनको ऊर्जावान् समय कम्युनिष्ट पार्टीमा बिताएको छु । फेरि पनि कम्युनिष्ट पार्टीबाट टाढा रहन्नँ । मैले लिँदै आएको विचार, अडान र भावना तथा मेरो योगदानबारे कस्तो प्रतिक्रिया आउँछ, त्यसपछि निर्णयमा पुग्नेछु ।”
सङ्घीयताको मागमा पार्टी नीतिविरुद्ध असन्तुष्ट जनाउँदै एमालेका उपाध्यक्ष अशोक राईलगायतको समूहले नयाँ पार्टी गठन गरेपनि नेता झा नयाँ पार्टीमा गएका थिएनन ।