फागुन ३० – उत्तर कोरियाले आज ६० वर्ष पुरानो कोरियाली युद्ध अन्त्य गर्ने युद्धविराम सम्झौता भङ्ग गरेको घोषणा गरेको छ ।

उसले युद्ध विराम अन्त्यको घोषणासँगै अर्को पाइला आफ्ना शत्रुविरुद्ध निर्दयी प्रतिक्रिया हुने चेतावनी समेत दिएको छ ।

यसबीच प्योङयाङबाट चेतावनीका अनेकौँ भनाइ आएका छन् र हालको उत्तर कोरियाको सशस्त्र सेना हेर्ने मन्त्रालयले जारी गरेको लामो विज्ञप्तिले कोरियाली प्रायद्वीपमा हालसम्मकै सबैभन्दा अधिक स्तरमा तनाव बढेको देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

उत्तर कोरियाको सरकारी समाचार संस्था कोरियन सेन्ट्रल न्युज एजेन्सीले अमेरिका तथा उसको समर्थनमा रहेको सोल सरकारबाट युद्धका लागि उक्साहट भइरहेको दाबी गरेको छ ।


मन्त्रालयका एक प्रवक्ताले युद्धविराम सम्झौता अब कायम नरहेको र उत्तर–दक्षिणबीच अनाक्रमणको घोषणाले अब उत्तर कोरियालाई बाधा नदिने बताए भनी समाचारमा उल्लेख गरिएको छ ।

उत्तर कोरियाले गत साता सन् १९५३ मा सोलसँग गरेको युद्धविराम सम्झौता तथा शान्ति सम्झौता भङ्ग गर्ने घोषणा गरेको थियो ।

कोरियाली युद्ध शान्ति सन्धि भन्दा पनि युद्धविराम सम्झौताबाट अन्त्य भएकाले दुई मुलुक प्राविधिक रूपमा सँधै युद्धरत अवस्थामा रहेका छन् ।

संयुक्त राष्ट्र सङ्घको साधारण सभाले उक्त युद्धविराम सम्झौता पारित गरेकाले संयुक्त राष्ट्र सङ्घ तथा दक्षिण कोरियाले उत्तर कोरियाले एकपक्षीय रूपमा यसलाई भङ्ग गरेको भन्ने कुरालाई अस्वीकार गरेका छन् ।

संयुक्त राष्ट्र सङ्घका प्रवक्ता मार्टिन नेसर्कीले युद्धविराम सम्झौताले कुनै पनि पक्षलाई एकपक्षीय रूपमा सम्झौता भङ्ग गर्ने अधिकार नदिएको बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।