जयन्ती लुइटेल, फागुन २५ – नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल ‘गौरव’ ले ठूलो जनघात र राष्ट्रघात गरि सकेका तीन दल र मधेशी मोर्चाले गर्ने निर्णय आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले आज काठमाडौँको शान्ति वाटिकामा आयोजना गरेको १०३ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा नेता गजुरेलले उक्त धारणा राखेका हुन् ।

आफ्नो पार्टीले संविधानसभामा प्रतिनिधित्व गर्ने ३१ दलको सहभागितामा गोलमेच सभाको आयोजना गर्ने र त्यसैबाट संयुक्त राष्ट्रिय सरकार, संविधानका अन्तरवस्तु र जनजिविकाको सवालमा सहमतिमा पुग्न प्रस्ताव गरेको बताए ।

तर तिन दल र मधेशी मोर्चाले नेकपा—माओवादीको प्रस्ताव अस्विकार गरी एक प्रकारको सिण्डिकेट वनाएर जान खोजेको उनले दावी गरे ।

नेपालमा फासीवाद लागू गर्न खोजिएको र त्यसका विरुद्ध देशभक्त, वामपंथी र गणतन्त्रवादी शक्तिहरुको बृहत संयुक्त मोर्चाको आवश्यकता रहेको नेता गजुरेलको भनाई छ । आफ्नो पार्टीले गोलमेच सभा र आन्दोलनको तयारी सँगसगै गरिरहेको पनि उनले प्रस्ट पारेका छन् ।
देश र जनताका विरुद्ध गरिएका सबै सम्झौता र निर्णयहरुलाई खारेज गरी नयाँ आन्दोलनको म्याण्डेटका आधारमा देशलाई स्वाधिनता दिलाउने उनले दाबी समेत गरेका छन् ।

राष्ट्रिय स्वाधिनता रक्षाको लागि द्मयो समय पार्टी पार्टीवीचमा लडने नभएर राष्ट्रिय स्वाधिनताको लागि संयुक्त रुपमा लडने हो । देश नै नरहे कहाँ लगेर पार्टीको झण्डा गाड्ने ? सेना पुलिसले लाएको फुली देश नै नरहे कस्ले लाइदिने ?”उनको प्रश्न थियो ।

नेता गजुरेलले अर्को एक प्रसङ्गमा “आर्थिक रुपमा नेपाललाई असफल भनेर हल्ला गरिरहेका विदेशी शक्तिहरुले यत्रो राजनैतिक आन्दोलन हाकेका नेताहरु र पार्टीहरु असफल सावित गरेर प्रधान न्यायधिशलाई प्रधानमन्त्री बनाउने षड्यन्त्र गरिरहेको बताए । प्रधानन्यायधिशलाई प्रधानमन्त्री बनाइदिएपछि न्यायलय पनि असफल हुने र राजनैतिक रुपमा पनि असफल राष्ट्र घोषणा गर्न पाइने हुनाले यो खेल अगाडि बढाइरहेको उहाको दावी रहेको छ । न्यायालयले कतिपय निर्णयहरु राष्ट्रिय स्वाधिनताको पक्षमा गरेकाले न्यायलयलाई असफल पार्ने षडयन्त्र भएको पनि उनले उल्लेख गरे ।

प्रचण्डले हेटौडा पुगेर नयाँ सुत्र ल्याए भनेको त्यो दिल्लीले दिएको पुरानै सुत्र भएको, कसैले यो सुत्रको विरोध गर्दैनन् भन्ने उनको भनाइ आउनु अगाडि नै उताबाट विराध नगर्न अन्य दलहरुलाई फोन आइसकेको उनले दाबी गरे ।

प्रधानन्यायधीशलाई प्रधानमन्त्री बनाउने षडयन्त्रको विरोध गर्नुको अर्थ बाबुरामलाई नै प्रधानमन्त्री बनाइराख्नु पर्छ भन्ने होइन । बाबुराम जस्ता राष्ट्रघातीलाई जति दिन सत्तामा राख्यो त्यति बढी राष्ट्रघात हुँने हुदा जति सकिन्छ छिटो उनलाई प्रधानमन्त्रीको कुर्सीबाट हटाएर देश भक्त र गणतन्त्र पक्षधर शक्तिहरुको नेतृत्वमा संयुक्त राष्ट्रिय सरकार बनाउनु पर्नेमा उनले जोड दिए ।

नेपाली जनता अब संघर्षमा नआउने प्रचारको खण्डन गर्दै नेता गजुरेलले दुई दुई पल्ट आफ्नो पार्टीले गरेको नेपाल बन्दमा जनताको अपार समर्थनले नेपाली जनता राष्ट्रिय स्वाधिनता, गणतन्त्र र जनजिविकाको लागि निरन्तर संघर्षको पक्षमा रहेको बताए ।

कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) की सह संयोजक अमृता थापाले हिजो बन्दुक खेलाएको ज्ञान सहित अव राष्ट्रिय स्वाधिनता र महिला मुक्तिका लागि डाँडू , पन्यू, चुलेसी सहित महिलाहरु आन्दोलनमा निस्कनु पर्ने बताइन् ।

समान अधिकार प्राप्त नभए सम्म महिला आन्दोलन नरोक्निे बताउदै नेतृ थापाले राजनैतिक रुपमा छाएको सनाट्टा आँधी आउनु पूर्वको सनाट्टा जस्तै भएको बताइन् ।

कार्यक्रमलाई पूर्व महिला आयोगकी अध्यक्ष नैनकला थापा, अनेमसंघ (क्रान्तिकारी) की तारा घर्ती, लगायतले सम्वोधन गरेका छन् । कार्यक्रमको संचालन केन्द्रीय सदस्य शारदा महत्त, सभापत्वि प्रतिभा श्रेष्ठ र स्वागत मन्तव्य तारा शर्माले गरिन् । “राष्ट्रिय स्वाधिनता र महिला मुक्ति आन्दोल नयाँ उचाइमा उठाऔं ! १०३ औं महिला दिवस भव्य रुपले सफल पारौं !! ” भन्ने मूल नाराका साथ मनाएको उक्त कार्यक्रमका सहभागीहरुले सुनधारामा जम्मा भई सहरका विभिन्न भागको परिक्रमा गरी शान्तिवाटिकामा उक्त कार्यक्रमको आयोजना गरेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।