फागुन २४ – भेनेजुएलाका राष्ट्रपति ह्युयो चाभेजप्रति लाखौँ नागरिकले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

चाभेजको शवलाई उनको निधन भएको अस्पतालबाट सैनिक प्रतिष्ठानमा ल्याउने क्रममा लाखौँ नागरिकले श्रद्धाञ्जलि अर्पण गरेका थिए । बाटोमा जम्मा भएका नागरिकले उनको शवयात्राका क्रममा श्रद्धाञ्जलि अर्पण गर्न पालो कुरेर बसेका दृश्यहरू टेलिभिजनले देखाएका थिए ।

चाभेजको शुक्रबार अन्त्येष्टि गर्ने कार्यक्रम रहेको छ । त्यतिन्जेलसम्म उनको शवलाई सो सैनिक प्रतिष्ठानमा राखिने भेनेजुएला सरकारलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

राष्ट्रपति चाभेजको ५८ वर्षको उमेरमा गत मङ्गलबार निधन भएको थियो । उनी करिब दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित थिए ।

उनको निधनपछि भेनेजुएलामा बुधबारदेखि पाँच दिन शोकको घोषणा गरिएको छ ।

बुधबार चाभेजको शव उनको निधन भएको राजधानीको सैनिक अस्पतालबाट सैनिक प्रतिष्ठानमा लैजाने क्रममा जनताको भीडका कारण कम्तीमा पनि छ घण्टा समय लागेको बताइएको छ ।

उपराष्ट्रपति मडुरोले शोकमा रहेका नागरिकप्रति धैर्य र संयमित रहन सम्पूर्ण देशवासीलाई आग्रह गरेका छन् । उनले सुरक्षाका लागि देशभरी सैनिक परिचालन गरिएको पनि जानकारी दिएका छन् ।

चाभेजको शवलाई शुक्रबारसम्म सो प्रतिष्ठानमा राखिने बताइएको छ । शुक्रबार राजधानी काराकासबाटै शवयात्रा हुने सरकारले जनाएको छ । उनको शवयात्रामा सहभागिताका लागि विभिन्न देशका राष्ट्रपति एवम् प्रतिनिधि भेनेजुएला पुगिसकेको बताइएको छ ।

उनलाई ल्याटिन अमेरिकाको एक सशक्त नेताका रुपमा चित्रण गरिएको छ । ल्याटिन अमेरिकी राष्ट्रका अधिकांश नेताहरूले उनको निधनले सो क्षेत्रको एकजना सशक्त र जुझारु नेता गुमाएको टिप्पणी गरेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।