काठमाडौँ, २४ फागुन । प्रधानन्याधीशलाई प्रधानमन्त्री बनाई निर्वाचनमा जानुभन्दा राजनीतिक दल भित्रकै महिलालाई प्रधानमन्त्री बनाई निर्वाचनमा जान महिला नेत्रीहरूले माग गरेका छन् ।
एकीकृत नेकपा (माओवादी), नेपाली काँग्रेस र नेकपा एमालेका केन्द्रीय तहका महिला नेत्रीहरूले रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित साक्षात्कारमा सो माग गर्दै एकै स्वरमा भने –“महिलालाई प्रधानमन्त्री बनाउनूस्, निर्वाचनसम्पन्न गरेर देखाइदिन्छन् ।”
दलभित्रकै महिलालाई प्रधानमन्त्री बनाउन दलहरूबीच कुराकानी हुन आवश्यक छ, महिलालाई नेतृत्व दिन दलहरूबीच सहमतिसमेत हुने आशासमेत उनीहरूले व्यक्त गरे ।

नेकपा (एमाले) का उपाध्यक्ष विद्यादेवी भण्डारीले भनिन्–“म शीर्ष दलका शीर्ष नेतागणलाई आग्रह गर्दछु, महिलालाई प्रधानमन्त्री बनाउनूहोस्, निष्पक्ष निर्वाचन गरेर देखाइदिन्छन् । ”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले शक्ति पृथकीकरणको सिद्धान्तलाई बेवास्ता गरी प्रधानन्याधीशलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने धारणा राखिन् ।
उनले भनिन्–“अब प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाएर चुनावमा जाने होइन्, महिलालाई प्रधानमन्त्री चाहियो ? निर्वाचन गरेर देखाइदिन्छन् ।”
एनेकपा (माओवादी)का नेता सीता पोखरेलले भनिन्– “महिलाको काम बच्चा जन्माउने र दूध चुसाउनेमात्र हो भनेर नसोच्नूस्, प्रधानमन्त्री दिनूहोस् चलाएर देखाइदिन्छन् ।”
गैरसरकारी संस्था महासङ्घका अध्यक्ष शर्मिला कार्कीले प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन नहुने धारणा राखिन् ।







