फागुन २३ – पत्रकारको नाम लिएर आचार संहिता विपरित काम गर्ने दुई जना पत्रकारलाई पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले निलम्बन गरेको छ ।

महासङ्घ केन्द्रीय सङ्गठन समितिको मंगलबार बसेको बैठकले महासङ्घको विधान र पत्रकार आचारसंहिताविपरीत कार्य गरेको ठहर गर्दै शाखाको सिफारिसबमोजिम महासङ्घ दैलेख शाखाका सदस्य भूपेन्द्र शाहीलाई एक वर्ष र महासंघ दाङ शाखाका सदस्य परशुराम शर्मालाई छ महिनाका लागि महासंघको सदस्यबाट निलम्बन गरेको हो ।

एक वर्षका लागि निलम्बन परेका महासङ्घ दैलेख शाखाका सदस्य भूपेन्द्र शाही एभिन्यूज टेलिभिजनमा आवद्ध छन् ।

उनी राप्रपाका जिल्ला सचिव समेत भएको र पत्रकारको नामबाट उनले पत्रकारको मर्यादा भन्दा माथि उठेर समाजमा विभिन्न किसिमका कामहरु गर्दै आएको स्रोतले जनाएको छ ।

उनले यसअघि दैलेखमा क्रान्तिकारी पत्रकार महासंघको आयोजनामा आयोजित बृहत शान्ति सम्झौता र संक्रमणकालिन न्याय विषय अन्तरक्रिया कार्यक्रममा स्व. पत्रकार डेकेन्द्रको मुद्धाको विरुद्धमा बोल्ने जो कोहीलाई पनि खतरा हुने भन्दै सार्वजनिक रुपमा धम्क्याएका थिए ।

अन्तर्राष्ट्रिय कानुनका ज्ञाता समेत रहेका ल क्याम्पसका प्रोफेसर तथा अधिवक्ता गोपाल सिवाकोटी चिन्तन बोलिरहेको अवस्थामा उनै पत्रकार शाहीले आफूहरु भाषण सुन्न नआएको भन्दै कार्यक्रम बहिस्कार गरेका थिए ।

सिवाकोटीले बोलिरहँदा उनले सिँधै उठेर पत्रकार डेकेन्द्रको मुद्धा विषयमा नबोल्न चेतावनी दिएपछि उनकै नेतृत्वमा पत्रकारहरु कार्यक्रबाट बाहिरिएका थिए । सो क्रममा उनले डेकेन्द्रको मुद्धालाई लिएर विपक्षीलाई कमजोर बनाउने उद्देश्यले विपक्षी कानुन व्यवसायीलाई हातपात गर्ने सम्मको योजना बनाएर गुण्डालाई फोन गरेको समेत बताइएको थियो ।

तर कार्यक्रममै उपस्थित भएका सिडिओले कार्यक्रमबाट बिदा लिएर सम्बन्धित निकायमा आदेश दिई उक्त घटना घट्नबाट बचाएका थिए ।

पत्रकारको उक्त गुण्डागर्दीपूर्ण ज्यायतीले निक्कै चर्चा पाएपछि उक्त घटना एभिन्यूज टेलिभिजनको कार्यालय काठमाडौँसम्म उक्त कुरा पुगेको थियो । त्यसै विषयमा बोर्डको बैठक समेत बसेको चर्चा चलेको थियो ।

सो समयमा स्व. पत्रकार डेकेन्द्र हत्याका आरोपीको पक्षमा वकालत गर्न गएका सिवाकोटीलाई कार्यक्रममै धम्की आएपछि उनले महासंघका अध्यक्ष शिव गाउँलेसँग फोन गरेर तपाईहरुकै साथीबाट धम्की आयो सुरक्षा व्यवस्था गरेर वकालत गरौँ कि नगरौँ भन्दै घुमाउरो पारामा कारबाहीको माग गरेको बताइएको छ । सो समयमा गाउलेले पत्रकारको जिम्मा आफूले लिने भन्दै सिवाकोटीलाई निष्पक्ष रुपमा वकालत गर्न भनेको स्रोतको दाबी छ ।

त्यसैगरी, पत्रकारहरुलाई धम्की आएको भन्दै २२ पत्रकारले दैलेख छाडेको अवस्थापछि पुनः दैलेख फर्कने क्रममा समेत शाहीले महासंघका अध्यक्ष शिव गाउले लगायत पदाधिकारीको विपक्षमा लफडा गरेको बताइएको छ ।

यद्यपी, नेपाल पत्रकार महासंघले भने महासङ्घको विधान र पत्रकार आचारसंहिताविपरीत कार्य गरेको ठहर गरेर निलम्बन गरेको उल्लेख मात्रै गरेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।