फागुन १४ – प्रधानमन्त्री डा। बाबुराम भट्टराईले अब संविधानसभाको निर्वाचन पक्कापक्की भएको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटार परिसरमा नवनिर्मित सभागृह र सशस्त्र प्रहरी बलको आवासगृहको उद्घाटन गर्दै उनले मुलुक संविधानसभाको नयाँ निर्वाचनको प्रक्रियामा अगाडि बढीसकेको बताए ।

सो अवसरमा उनले प्रमुख दलका शीर्ष नेता र प्रधानन्यायाधीशबीच भएको छलफल एकदमै सकारात्मक भएको जानकारी गराउँदै मुलुक अब संविधानसभाको नयाँ निर्वाचनमा होमिनेमा विश्वास पैदा भएको बताए ।

दलहरुको सहमतिमा संवैधानिक तथा कानुनी रुपमा मिलाउनुपर्ने सबै प्रावधानहरु मिलाएर बाधा अड्काउ फुकाउमार्फत प्रक्रिया अगाडि बढाएपछि मुलुक निर्वाचनको प्रवाहमा हेलिने र निर्वाचनपछि मुलुकमा जारी राजनीतिक सङ्कटले समाधान पाउने उनको भनाई छ ।

त्यहाँ उनले निर्वाचन प्रयोजनका लागि गठन हुने प्रधानन्यायाधीश नेतृत्वको सरकारले मुलुकलाई निर्वाचनमा केन्द्रित गर्ने र दलहरु निर्वाचनमा होमिने पनि उल्लेख गरे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।