फागुन १३ – नेकपा–माओवादीका महासचिव राम बहादुर थापा बादलले स्व. राजा विरेन्द्र शाहको वंशनाश हुने गरी भएको हत्याकाण्ड भारतको पक्ष नलिएकाले भएको उल्लेख गरेका छन् ।
राजधानीमा आयोजित नेवाः राज्यको प्रथम बैठकमा बोल्दै उनले भारतले आफू पक्षमा नरहनेलाई पहिले विभिन्न प्रलोभनमा किन्न चाहने र बेचिन नचाहनेमाथि विभिन्न घटना समेत घटाउने गरेको उल्लेख गरे ।

सो अवसरमा उनले दशौँ हजार बलिदान र रगत बगाएर जनताको इच्छा चाहना पूरा गर्न आएका भनिएका प्रचण्ड र बाबुरामहरु पूरै भारतसँग बेचिएको भन्दै त्यसबाट आफूहरु अलग भएर क्रान्ति पूरा गर्ने वाचा गरिसकेकाले नेतृत्वप्रति कुनै आशंका नगर्न कार्यकर्ताहरुसँग आग्रह समेत गरे ।

कार्यक्रममा बोल्दै एक प्रसंगमा उनले भने– ‘विरेन्द्रको राष्ट्रियताको पक्ष लिएर भारतसँग झुक्न नचाहँदा वंशनाश नै गरियो । मदन भण्डारी पनि राष्ट्रियताको पक्षमा लागेकैले हत्या गरियो । यता प्रचण्ड र बाबुरामहरु भने क्रान्तिको कामलाई छाडेर आत्मसमर्पण गरेका छन्,पूरै बिकेका छन् तर हामीले मृत्युको काक्रो बेचेर क्रान्तिको बाँकी काम पूरा गर्न होमिएका छौँ । यस्तो अवस्थामा नेतृत्वसँग शंकै नगरी तपाईहरु लाग्नुस् । क्रान्तिको बाँकी कार्यभार पूरा हुनेमा कुनै द्विविधा नै छैन ।’

कार्यक्रममा उनले पार्टीको कार्यदिशा जनयुद्धलाई निरन्तरता भन्ने नभएर अब हिजो जस्तै छापामार युद्धमा जानु भनेको जडसुत्रवादी हुने भन्दै अब जनताको सत्ता प्राप्तिका लागि जनविद्रोहमा जोड दिँदै त्यसका लागि बलिदानी दिन पनि तयार रहनुपर्ने पनि बताए ।

प्रचण्ड र बाबुरामप्रति लक्षित हुँदै उनले नेपालमा जनवादी क्रान्ति पूरा भयो भनेर भन्नु भनेको उनीहरुको आत्मसमर्पणलाई ढाकछोप गर्ने काम मात्रै भएकाले क्रान्ति पूरा हुनै अझै बाँकी रहेको बताए ।

बाँकी क्रान्तिको कार्यभार पूरा गरि छाड्ने अठोट गर्दै उनले चीन भन्दा पनि अर्कै र रुससँग पनि नमिल्ने नेपाली मोडलकै क्रान्ति हुने जनाए । त्यसमा उनले कार्यकर्ताहरु नेपाली क्रान्ति पूरा गर्ने उदाहरण तथा केही तथ्यहरु समेत पेस गरेका थिए ।

नेकपा–माओवादीको सातौँ महाधिवेशनपछि नेवा राज्यको पहिलो पटक बसेको आजको बैठकमा ४ सय भन्दा बढी राज्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।