एजेन्सी – चीनको सेनाले हजारौँको सङ्ख्या नभए पनि सयौँको सङ्ख्यामा क्षमतावान तथा क्षतिकारक ह्याकलाई आफ्नो नियन्त्रणमा राखेको दाबी अमेरिकी इन्टरनेट सुरक्षा संस्था म्यानडियान्टले मङ्गलबार गरेको छ ।
यस संस्थाले साङघाइको एक भवनमा साइबर आक्रमण गर्ने एक समूहको केन्द्र फेला पारेको दाबी गरेको छ ।
यस संस्थाले गरेको अनुसन्धानमा अमेरिकी समाचारपत्र, सरकारी संस्था तथा कम्पनीको कम्प्युटरमा चीनबाट ह्याक भएको फेला परेको र चिनियाँ सरकारलाई यस विषयमा जानकारी भएको दाबी गरेको छ ।
यो ७४ पृष्ठको प्रतिवेदन ‘‘एडभान्स परसिस्टेन्ट थ्रेट’’ (एपीटी१) मा केन्द्रित छ । ह्याकरहरूको समूहले अमेरिकी ऊर्जा लाइनजस्ता महत्वपूर्ण पूर्वाधारलाई आक्रमणको लक्ष्य बनाइरहेको विशेषज्ञहरूले उल्लेख गरेका छन् भनी न्यु योर्क टाइम्सले उद्धरण गरेको छ ।
म्यानडियान्टले सरकारी सहयोग प्राप्त गरेकाले यस प्रकारको लामो समयको तथा व्यापक साइबर आक्रमण हुनसकेको विश्वास गरिएको उल्लेख गरेको छ ।
यस समूहले चिनियाँ जनमुक्ति सेनाको ६१३९८ नाम गरेको एक एकाइको यस्तो आक्रमणमा सहयोग रहेको तथा आक्रमणको प्रमाणबाट साङघाइको बाहिरी भागमा रहेको तर परिचय नखुलेको बाह्र तलाको एक भवनबाट आक्रमण भएको देखिएको विश्वास गरिएको उल्लेख गरेको छ ।
प्रतिवेदनमा उपलब्ध गराइएको प्रमाणले एपीटी१ उक्त ६१३९८ एकाइ भएको दाबीलाई पुष्टि गर्ने उल्लेख गरिएको छ । यस एकाइमा सयौँ तथा सम्भवत हजारौँ कर्मचारीले काम गर्ने अनुमान गरिएको छ ।
चीनको प्रतिरक्षा मन्त्रालयले आफ्नो सेनाले कुनै पनि ह्याकिङ क्रियाकलापलाई सहयोग नगरेको दाबी गरेको छ ।
मन्त्रालयले एक विज्ञप्ति जारी गरी चिनियाँ सेना ह्याकिङमा संलग्न भएको भन्ने समाचार अपेसागत भएको र यसमा कुनै सत्य नभएको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा ह्याकिङ विश्वव्यापी समस्या भएको र अन्य मुलुकले झै चीनले पनि यस प्रकारको ह्याकिङको समस्या भोगेको र चीन ह्याकिङ आक्रमणको प्रमुख पीडित पक्ष भएको दाबी गरेको छ ।
चीनको विदेश मन्त्रालयले मुलुक ह्याकिङमा संलग्न भएको भन्ने आरोप आधारहीन भएको तथा चीन नै विदेश र विशेष गरी अमेरिकाबाट हुने ह्याकिङको प्रमुख पीडित मुलुक भएको उल्लेख गरेको छ ।
अमेरिकाका न्यु योर्क टाइम्स, वाल स्ट्रिट जर्नल तथा ट्विटर जस्ता आमसञ्चार संस्थामा सूचना प्रविधिको आक्रमण भएको तथा र उनीहरूले चिनियाँ ह्याकरहरूमाथि आरोप लगाउने गरेको बताइन्छ ।
टाइम्सले ह्याकरले संस्थाको पासवर्ड चोरेको तथा ५३ वटा कर्मचारीको व्यक्तिगत कम्प्युटरमा ह्याक गरिएको दाबी गरेको छ । यसअघि यस संस्थाले चिनियाँ प्रधानमन्त्री वेन जियाबाओको पारिवारिक सम्पत्तिको विषयमा समाचार प्रकाशन गरेको थियो ।
टाइम्स जस्ता संस्थाले आफ्नो कम्प्युटरमा देखिएको समस्या समाधान गर्न म्यानडियान्टलाई काममा लगाएको थियो ।
म्यानडियान्टले एपीटी१ ले पत्रिकाको टिप्पणी लेख्ने स्थानमा भाइरस छोड्ने गरेको र त्यसका आधारमा २० औद्योगिक क्षेत्रका १४१ संस्थाका अनेकौँ टेराबाइट तथ्याङ्क चोरेको प्रतिवेदनमा उल्लेख गरेको छ । यसरी ह्याक गर्ने व्यक्तिलाई कमेन्ट क्र्युको नाम दिइएको छ ।
टाइम्सलाई प्रतिवदेन उपलब्ध गराइएको छ र प्रतिवेदनमा ह्याकरहरूले अमेरिकी विद्युतीय ऊर्जा लाइन, ग्यास लाइन तथा पानीका संरचनाको कम्प्युटरलाई लक्ष्य बनाइरहेको उल्लेख गरिएको छ । यस्तो एक लक्षित कम्पनीले मुलुकको उत्तरी भागमा ६० प्रतिशत तेल तथा ग्यास आपूर्ति गरिरहेको यस पत्रिकाले उल्लेख गरेको छ ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो सङ्घीय भाषणमा अमेरिकी महत्वपूर्ण संरचनामा बाहिरबाट हुने आक्रमण प्रमुख चिन्ताको विषय भएको बताएका थिए ।
आक्रमणको प्रमुख स्रोत भवन साङघाइको गाओकियाओमा एक पेट्रोकेमिकल भवनको नजिकै रहेको बताइएको छ । उक्त भवनको नाम दिइएको छैन तर त्यसको पर्खालमा सैनिकको पोस्टर लगाइएको र त्यसको मुख्य ढोकामा चिनियाँ जनमुक्ति सेनाको रातो ताराको सङ्केत रहेको बताइएको छ ।