एजेन्सी – न्युजिल्याण्डमा हालै सार्वजनिक गरिएको एक अध्ययनमा धेरै टिभी हेर्ने बालबालिका अन्य साधारण बालबालिकाभन्दा बढी आक्रामक हुने गरेको पाइएको छ ।

साथै यस्ता बालबालिका साधारणभन्दा बढी मात्रामा अपराधमा सम्लग्न हुने गरेका पाइएको पनि समाचारमा जनाइएको छ ।
संयुक्त राज्य अमेरिकाको एक जर्नलमा हालै प्रकाशित सो अनुसन्धान प्रतिवेदनअनुसार धेरै मात्रामा टिभी हेर्ने बालबालिकामा यस्ता असरहरु देखिने गरेको पाइएको जनाइएको छ ।

न्युजिल्याण्डको ओटागो नामक विश्वविद्यालयका विज्ञहरुले सन् १९७० को दशकमा जन्मिएका एक हजार जना बालबालिकामा सो अनुसन्धान गरेका थिए । सो समयमा जन्मिएका बालबालिका १५ र बढीमा २६ वर्षका भएपछि उनीहरुमा सो अनुसन्धान गरिएको हो ।

यस अनुसन्धानमा प्राय बालबालिका र वयस्कहरुको स्वभावको अध्ययन गरिएको थियो । सो समयमा जन्मिएका तथा कमैमात्र टिभी हेर्ने र धरै टिभी हेर्ने बालबालिकामा सो अनुसन्धान केन्द्रित गरिएको थियो ।

संयुक्त राज्य अमेरिकाको पेडियाट्रिक्स नामक सो जर्नलमा यसै हप्ता सो समाचार प्रकाशन भएको थियो । सो समाचार विभिन्न सञ्चारमाध्यमले उद्धृत पनि गरेका बताइएको छ ।

सो अध्ययनले भनेको छ– सानै उमेरमा टिभीमा लत बसाल्ने गरेका बालबालिका र असामाजिक व्यवहारकाबीच आपसमा अन्तरसम्बन्ध रहने गरेको छ ।

साधारण बालकालिकाले भन्दा धेरै टिभी हेर्ने बालबालिकाको कम्तीमा पनि ३० प्रतिशत बढी आक्रामक हुने स्वभाव पाइएको सो अध्ययनले भनेको छ ।

साथै टिभीमा धेरै बस्ने बालबालिकाले सोही मिडियाबाटै आपराधिक क्रियाकलापहरुको पनि सिको गर्ने गरेको र उनीहरुमा अरु बालबालिकामा भन्दा बढी आपराधिक मानसिकताको पनि विकास हुने गरेको सो अध्ययनले देखाएको छ ।

सो अनुुसन्धानमा सम्लग्न एकजना विज्ञले भनेका छन्– हामी धेरै टिभी हेर्ने बालबालिका आपराधिक मानसिकताका हुन्छन् नै भनेका छैनौँ तरपनि सानै उमेरदेखि टिभीको लत बस्ने गरेका बालबालिकामा असामाजिक भावनामा भने बृद्धि भइरहेको छ ।

साधारण कार्यक्रमहरु हेर्न नै दिएपनि लत बसालेरै टिभी हेर्ने बालबालिकालाई भने उनीहरुको लतमा कमी गर्नै पर्दछ – उनले भनेका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।