पूर्वमन्त्रीको संयोजकत्वमा कर्मचारी समयोजनका लागि उपसमिति

काठमाडौं २७ भदौं
व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिले स्थानीय तहमा कर्मचारी समायोजन सम्बन्धी विधेयकको विषय टुंग्याउन पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माको संयोजकत्वमा एक उपसमिति गठन गरेको छ ।

समितिको सोमबार बसेको बैठकले नेकपा माओवादी केन्द्र संसदीय दलकी प्रमुख सचेतक समेत रहेकी शर्माको संयोजकत्वमा ९ सदस्यीय कर्मचारी समायोजन सम्बन्धी उपसमिति गठन गरेको हो ।
उपसमिति संयोजक शर्माले विधेयकका विषयमा परेका संशोधनहरुको अध्ययन गर्ने तथा मन्त्रालय र अन्य सरोकारवालाहरुसँग परामर्शका आधारमा उपसमितिमा सहमति जुटाएर विधेयक समितिमा बुझाउने जानकारी दिइन् । उनले ३ असोजमा बस्ने बैठकमा उपसमितिले विधेयकको विषय टुंगो लगाएर बुझाउने तयारी रहेको समेत जानकारी दिइन् ।

यस्तै, समितिको बैठकले यातना नियन्त्रण सम्बन्धी विधेयकको विषयमा समेत उपसमिति गठन गरेको छ । कांग्रेस सांसद जिवन बहादुर शाहीको संयोजकत्वमा ७ सदस्यीय उपसमिति गठन भएको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।