माघ २४ – एमाओवादी पार्टी त्याग गर्ने सात जना राज्य समिति स्तरीय नेताहरु मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीमा प्रवेश गरेका छन् ।
प्रचण्डले नेतृत्व गरिरहेको एमाओवादी दक्षिणपन्थी भासमा फसिसकेको भन्दै उनीहरु नेकपा माओवादी प्रवेश गरेका हुन् ।
पार्टी प्रवेशपछि एक प्रेस विज्ञप्ति निकाल्दै उनीहरुले नेकपा–माओवादीले नेपालको जनवादी क्रान्ति सम्पन्न गर्नसक्छ भनी आफूहरुले एनेकपा (माओवादी)सँग सम्बन्ध विच्छेद गर्दै आजकै मितिबाट नेकपा–माओवादी पार्टीमा आवद्ध भएको उल्लेख गरेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा टंकप्रसाद प्रसाई, बलराम न्यौपाने, दिलिपकुमार पाठक, ठकन महतो, केशव प्र. न्यौपाने रहेका छन् ।
उनीहरुद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपाली जनवादी क्रान्तिको बाटो जनसंघर्षको बिकास गर्दै जनयुद्धको जगमा सशस्त्र जनविद्रोहको बाटो हो भनी क्रान्तिको झण्डा उठाएको, वैचारिक र राजनैतिक दिशा सही भएकोले नेकपा–माओवादी नै सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी भएको पनि उल्लेख छ । हेर्नुहोस प्रेस विज्ञप्ति
प्रेस विज्ञप्ति
सिङ्गो पार्टी एकीकृत नेकपा (माओवादी) माक्र्सवादी क्रान्तिकारी धाराबाट विचलित भएपश्चात निर्माण भएको नेकपा–माओवादी र एनेकपा (माओवादी) को सैद्धान्तिक, राजनैतिक, सांगठनिक र नेपाली क्रान्तिको बारेमा दस्तावेज अध्ययन गर्दा एमाओवादीका नेतृत्वको वर्ग रुपान्तरण भएको छ र उसले सचेततापूर्वक पार्टीलाई दक्षिणपंथी बिसर्जनवादको बाटोमा लागेकोले क्रान्तिकारी पार्टी सदस्यहरु सही कम्युनिस्ट क्रान्तिकारी पार्टीमा आबद्ध हुनुपर्ने देखिन्छ ।
नेपाली समाज अहिले पनि अर्धसामन्ती, नवऔपनिवेश अवस्थामा नै छ । तर एनेकपा (माओवादी) नेपालमा जनवादी क्रान्ति पुरा भैसकेको र बाँकी कार्यभार उत्पादन बृद्धि गरी पूँजीवादको बिकास गर्दै सिधै समाजवादमा जान सकिन्छ भन्ने असैद्धानिक र अवैज्ञानिक विश्लेषण गरेबाटस्पष्ट हुन्छ । जब देश नवऔपनिवेशिक अवस्थामा नै कायम छ भने कसरी जनवादी क्रान्ति र राष्ट्रिय स्वाधीनताको लडाई पुरा भयो ?
एनेकपा (माओवादी)को उल्लेखित दस्तावेजमा प्रधान अन्तरविरोध कोसँग छ भनि किटान गर्न, नेपाली क्रान्तिको स्पष्ट कार्यदिशा उल्लेख गर्न, क्रान्तिकारी भूमिसुधारको विषयमा स्पष्ट धारणा राख्न, राष्ट्रियता सम्बन्धी मुद्दामा एउटै पार्टी भित्र समान धारणा बन्न नसक्नु आदि कारणबाट के स्पष्ट हुन्छ भने यो पार्टी माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्तबाट पुरै स्खलित भएको हुँदा यो क्रान्तिकारी पार्टी नभई गैर कम्युनिस्ट पार्टीमा बदलिसकेको छ । यो पार्टी पुरै दक्षिणपन्थी भासमा गइसकेपश्चात हामीहरु जस्ता क्रान्तिकारी कम्युनिस्ट पार्टी सदस्यहरु यस पार्टीमा आवद्ध भइरहन सक्ने स्थिति रहेन ।
तसर्थ माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्तको आलोकमा नेपाली जनवादी क्रान्तिको बाटो जनसंघर्षको बिकास गर्दै जनयुद्धको जगमा सशस्त्र जनविद्रोहको बाटो हो भनी क्रान्तिको झण्डा उठाएको, वैचारिक र राजनैतिक दिशा सही भएकोले नेकपा–माओवादी नै सच्चा क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । यसले नै नेपालको जनवादी क्रान्ति सम्पन्न गर्नसक्छ भनी हामीहरुले एनेकपा (माओवादी)सँग सम्बन्ध विच्छेद गर्दै आजकै मितिबाट नेकपा–माओवादी पार्टीमा आवद्ध भएको जानकारी गराउँदछौं ।
सम्पूर्ण क्रान्तिकारी, शुभचिन्तक, समर्थक, आम जनसमुदाय र देशभक्त शक्तिहरुलाई क्रान्तिकारी धाराको नेतृत्व गरेको नेकपा–माओवादीमा आवद्ध हुन अपील गर्दछौं ।
क्रान्तिकारी अभिवादन सहित,
वार्ता संयोजक – क. बिदुर प्रसाद खरेल
वार्ता सदस्यहरु – क. टंकप्रसाद प्रसाई
– क. बलराम न्यौपाने
– क. दिलिपकुमार पाठक
– क. ठकन महतो
– क. केशव प्र. न्यौपाने








