रुकुम, २३ माघ । जिल्लाका सम्पूर्ण लेकाली क्षेत्रमा हिमपात भएको छ । उत्तरपूर्वी गाविसका सबै भू–भागमा अहिले पनि हिमपात भइरहेको छ । रातिदेखि सुरु भएको हिमपातले सबै गाउँ सेताम्य भएका छन् ।

जिल्लाका गोतामकोट, घेत्मा र स्यालाखदीको अधिकांश भागमा हिउँ परेको स्थानीयवासीले जानकारी दिएका छन् । यस्तै मग्मा, बाँफिकोट, पिपल, पोखरा, प्वाङ र सिस्नेको लेकाली क्षेत्रमा पनि हिमपात जारी छ ।

ती गाविसभन्दा पूर्वी क्षेत्रमा रहेको जाङ, काँक्री, तकसेरा, हुकाम, रन्मामैकोटलगायतका दर्जन बढी गाविसमा पनि रातिदेखि नै हिउँ परिरहेको छ ।

हुकाम गाविसका लीलाबहादुर बुढाका अनुसार हिमपातका कारण अधिकांश सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । “दुई फिटभन्दा बढी हिउँ जमेको छ, बुढाले भन्नुभयो जनजीवन कष्टकर भइरहेको छ भने हिउँ पर्ने क्रम पनि रोकिएको छैन ।”

हिजो दिनभर नै रुकुमको आकासमा बादल लागेको थियो । लेकाली क्षेत्रमा हिउँ परे पनि जिल्लाभर वर्षा जारी छ । गर्मी चढ्ने समयमा वर्षा भएपछि चिसो बढाएको महसुस गरिएको छ ।

योसँगै यसवर्ष हिउँदमा रुकुममा दुई पटक वर्षा भएको छ । यसअघि पुस महिनाको पहिलो हप्ता भएको वर्षाले हिउँदे खाद्य तथा तरकारी बालीलाई सहयोग पु¥याएको थियो भने कतिपय ठाउँमा पानीसँगै परेको असिनाले बालीनालीमा क्षति पु¥याएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।