सोलुखुम्बु, २३ माघ । सामान्यतया सवारी साधनको प्रयोग गर्ने भनेको गन्तव्यमा सजिलैसँग चाँडो पुगियोस् भनेर हो । तर सोलुखुम्बुको सदरमुकाम सल्लेरीबाट नेले बजार पुग्न जिपमा भन्दा हिँडेर चाँडो पुगिन्छ ।
सदरमुकामबाट नजिक रहेको नेले बजारबाट सदरमुकामसम्म जिपमा आउने जानेहरु प्रायः सबैको यस्तै गुनासो छ ।
नेले पुगेर फर्कनुभएका तामाखानीका टेकबहादुर आलेमगरले भन्नुभयो “हिँडेर ढिलोमा तीन घन्टा लाग्थ्यो, तर जिपमा चार घन्टाभन्दा बढी लाग्यो” । टेकबहादुर जस्तै जुभिङका भद्रवीर राईले पनि दुःखेसो गर्नुभयो– “चाँडो हुन्छ भनेर जिप चढेको, हिँड्दाभन्दा पनि ढिला भयो” ।
हिँड्न तीन घन्टा लाग्ने सो बाटोमा जिपभाडा भने रु २५० रहेको नयाँबजारका सोमबहादुर राई गुनासो गर्नुहुन्छ ।
नयाँ रुट भएको र सदरमुकामबाट दक्षिण पूर्वी भेगका गाविस अतिविकट भएकाले त्यहाँबाट सदरमुकाम आउनेहरुले रहरले पनि जिप चढ््ने गरेका छन् ।
लोखिमबाट सदरमुकाम आउनुभएकी ४२ वर्षीया नौबरी राईले भन्नुभयो “कस्तो हुन्छ भनेर गाडी चढेको त रु २५० पो लियो, झन्डै लडायो पनि भाडा पनि महँगो भयो ।’
हिँड्नुभन्दा जिप चढ्दा ढिला हुनुमा बाटो घुमाउरोभन्दा पनि बाटोको नाजुक अवस्था प्रमुख कारण रहेको छ । बाटो हिलाम्मे भएको र भर्खर मात्र ट्र्याक खोलेको कारण ढिला हुने गरेको जिप चालक भीषण माझी बताउनुहुन्छ ।
अहिले सल्लेरीबाट नेलेसम्म सिटी भिलेज र हिमगङ्गा यातायात सेवाका जिपहरु भाडामा सञ्चालन भइरहेका छन् । सिटी भिलेजका काउन्टर प्रमुख छिन्डिल्हमु शेर्पा भन्नुहुन्छ “बाटो नराम्रो भएकाले भाडा बढी लिनुपरेको हो, जिपमा पनि चाँडै समस्या आउँछ लगानी डुब्ने डर हुँदाहुँदै पनि सेवा दिइरहेका छौँ” ।
व्यवसायीहरु कच्ची बाटोमा सेवा दिएको दाबी गर्छन् भनेसञ्चालकको मनोमानीका कारण करिब आठ किलोमिटर दूरीको यात्राका लागि रु २५० भाडा तिर्नुपरेको यात्रुहरुको गुनासो रहेको छ । रासस