हेटौँडा, २३ माघ । एकीकृत (माओवादी)को महाधिवेशन आयोजक समितिको बैठकले बन्दसत्रमा टोली नेताले प्रस्तुत गर्ने प्रतिवेदनको समयसीमा टुङ्गाएको छ ।

हेटौँडा औद्योगिक क्षेत्रभित्र बसेको आयोजक समितिको बैठकले प्रत्येक टोली नेतालाई पाँचदेखि सात मिनेटमा आफ्नो समूहमा उठेको सुझाव तथा निष्कर्ष प्रस्तुत गर्ने समय छुट्याएको हो ।

यस्तै बैठकले महाधिवेशन आयोजक समितिका सदस्यले अध्यक्ष पुष्पकमल दाहालसमक्ष प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमाथि लिखित सुझाव दिन सक्नेसमेत निर्णय गरेको छ ।

यसैगरी महाधिवेशनमा सहभागी प्रतिनिधि तथा पर्यवेक्षकले पनि लिखितरुपमा सुझाव दिनसक्ने व्यवस्था गरिएको एमाओवादीका प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो ।

बन्दसत्रको तेस्रो दिन आज पनि समूहगत छलफल जारी छ । समूहगत छलफलका लागि हिजो ६३ वटा समूह निर्माण गरिएको थियो । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।