माघ १५ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले दैलेखमा डलरको खेती गर्नेहरुको हल्लाखल्ला बढी भएको बताएका छन् ।
एमाओवादीको प्रथम बैतडी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री डा भट्टराईले दैलेखका पत्रकारहरुका विषयमा हल्लाखल्ला बढी भएको टिप्पणी गरेका हुन् ।
सो कार्यक्रममा दैलेखबाट विस्थापित भएका पत्रकारहरुको सुरक्षाप्रति सरकार प्रतिवद्ध रहेको भन्दै पत्रकारहरुको सुरक्षामा सरकार संवेदनशील रहेको जानकारी पनि गराए ।
उनले दैलेखमा डलरको खेती गर्नेहरुको हल्लाखल्ला मात्रै बढी भएको भन्दै आफूहरुले द्वन्द्वकालका घटना लुकाउने नभनेको बताए ।
सबै घटनाको स्थिति बुझ्ने, सत्यतथ्य पत्ता लगाउने र मेलमिलाप गराउने काम नभए कानुनी प्रक्रियाअनुसार न्याय दिइने मात्रै भनिएको तर यो कुरा बङ्ग्याएर हल्ला पिटिएको उनको भनाई छ ।
हेलिकप्टरबाट बैतडी आएका प्रधानमन्त्री डा भट्टराईले जिल्ला प्रशासन कार्यालयमा कर्मचारीहरुसँगको अन्तक्र्रियापछि गोठालापानी बजारमा आयोजना गरिएको सभालाई सम्बोधन गरेका थिए ।







