माघ १० – सरकार विरुद्ध आन्दोलनरत् विपक्षी दलहरुले नेकपा–माओवादी र एकीकृत नेकपा माओवादी दुवैको दैलेख पार्टी कार्यालयमा आगजनी गरेका छन् ।

विपक्षी कांग्रेस तथा नेकपा एमालेका कार्यकर्ताले त्यहाँ रहेका दुवै माओवादी कार्यालयमा तोडफोड र आगजनी गरेका हुन् ।

दैलेखमा आज दिनभर जसो झडप भएको छ । झडपमा परी दुवै तर्फका झण्डै ५० जना घाइते भएको बताइएको छ ।

झडपमा घाइते हुनेहरुमा कांग्रेस जिल्ला अध्यक्ष कृष्ण बिसी, एमाले जिल्ला अध्यक्ष अमरबहादुर थापा, जनमोर्चाका केन्द्रीय उपाध्यक्ष जनकराज शर्मा लगायत रहेका छन् ।

झडपका क्रममा प्रहरीले १ सय राउण्ड भन्दा बढी अश्रु ग्याँस प्रहार गरेको थियो भने ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

त्यहाँ बिहानैदेखि एक हजारको संख्यामा सशस्त्र र जनपद प्रहरी परिचालन गरिएको भएपनि प्रहरी झडप रोक्न भने सकेन ।

घर–घरमा कालो झण्डा लगाएर सडकमा उत्रिएका आन्दोलनकारीहरुले दैलेख प्रवेश गर्ने नाका समेत बन्द गरेका थिए । उता, एकीकृत माओवादीले पनि छिमेकी जिल्लाहरुबाट प्रहरी सुरक्षामा २२ ट्रक वाईसीएल कार्यकर्ता दैलेख उतारेको थियो ।

काठमाडौंबाट हेलिकप्टरमा दैलेख पुगेका प्रधानमन्त्री बाबुराम भट्टराई, एमाओवादी अध्यक्ष प्रचण्ड लगायतका नेताहरु हेलिकप्टरबाट सैनिक ब्यारेकमा ओर्लिएका थिए । कडा सुरक्षाबीच अधिवेशनस्थल पुगेका नेताहरुले बोल्दै गर्दा विपक्षी आन्दोलनकारीहरुले प्रहरी घेरा तोड्दै सभास्थलमै ढुंगामुढा गरेपछि कार्यक्रम केही समय बिथोलिएको थियो ।

कार्यक्रम सकेर शिर्ष नेताहरु भने दैलेखबाट फर्किसकेका छन् । त्यहाँको अवस्था भने अझै सामान्य बन्न सकेको छैन ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।