नेकपा–माओवादीले गृह प्रशासनले देशी विदेशी शान्ति विरोधी शक्तिको वृहत योजनामा द्वन्द्वको सुरुवात गरेको बताएको छ ।
माओवादी भेरी–कर्णाली राज्य संगठन समितिले आज प्रेस विज्ञप्ति निकालेर यस्तो जनाएको हो ।
माओवादीले पक्राउ परेको आफ्ना कार्यकर्ताको रिहाई गरी उक्त मुद्दा लगायत जनयुद्धकालिन सम्पुर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधानका लागि पहल गर्न सरकार समक्ष पुनः माग समेत गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी भेरी–कर्णाली राज्य संगठन समितिद्वारा जारी गरिएको विज्ञप्ति यस्तो छ :
प्रेस विज्ञप्ति
जनयुद्धकालमा राज्य र विद्रोही दुवै पक्षबाट भएका सम्पुर्ण घटनाहरु सत्य निरुपण तथा मेलमिलाप आयोगको माध्यमबाट समाधान गर्ने विगतको विस्तृत शान्ती सम्झौता र अन्तरिम संविधानको प्रावधानलाई दैलेख जिल्लामा ५ जनाको गिरफ्तारीले गंभिर उल्लङ्घन गरेको मात्र छैन अपितु गृह प्रशासनले देशी विदेशी शान्ति विरोधि शक्तिको वृहत योजनामा द्वन्द्वको सुरुवात समेत गरेको त्यस पछिका घटनाक्रमले पुष्टि गर्दछन् ।
हाम्रा सामु यस प्रकारका सयौं गैरन्यायीक घटना एवं वेपत्ताका मुद्दाहरु छन् जुन मुद्दालाई कोट्याउने कुराले समस्याको समाधान गर्ने होइन की देशमा परिवर्तन सहितको शान्ती नचाहने तत्वलाई नै मद्दत गर्ने देखिन्छ । सम्पुर्ण देशभक्त, गणतन्त्रवादी, एवं प्रगतिशिल, वुद्धिजीवी, मानवअधिकारवादी, पत्रकार,राजनीतिक दल, नागरिक समाज,एवं न्यायप्रेमी आदरणीय जनसमुदायमा विषयको यो गंभिरता तर्फ पनि सचेत हुन हामी हार्दिक अनुरोध गर्दछौं ।
दैलेखमा गिरफ्तार कमरेडहरुलाई तत्काल रिहाइ गरी यो मुद्दा लगायत जनयुद्धकालीन सम्पुर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधानका लागि पहल गर्न सरकार समक्ष पुनः जोडदार माग गर्दछौं । राष्ट्रियता जनतन्त्र र जनजीवीकाको सुनिश्चितता र परिवर्तन सहितको शान्ती स्थापना गर्न, हाम्रा गिरफ्तार कमरेडहरुको तत्काल रिहाई गरि राज्य र विद्रोही दुवै पक्ष संग सम्वन्धित सम्पुर्ण मुद्दाहरु सत्य निरुपण तथा मेलमिलाप आयोग मार्फत समाधान गर्न दबाव दिन भेरी कर्णाली राज्य समिति आगामी माघ १५ गते राज्य वन्दको आह्वान गर्दछ । यस बन्द कार्यक्रमलाई सफल बनाउन आ–आफ्नो ठाँउबाट सहयोग र समर्थन गरिदिनुहुन हामी सम्पूर्ण उद्योगी–व्यापारी, यातायात–व्यवसायी लगायत आदरणीय जनसमुदायमा हार्दिक अनुरोध गर्दछौं ।
भरत बम (रणवीर)
सेक्रेटरी