माघ १ – पुस २५ देखि राजधानीमा जारी नेकपा माओवादीको ७ औँ महाधिवेशन एक दिन लम्बिएर सोमबार पनि जारी छ ।

उक्त महाधिवेशनमा आइतार अध्यक्ष मोहन वैद्य किरण र सचिव देव गुरुंगले क्रमशः राजनीतिक प्रतिवेदन र विधान प्रतिवेदनका विषयमा उठेका प्रश्नहरुको जवाफ दिए । त्यस्तै आइतबार नै पार्टी उपाध्यक्ष सिपी गजुरेल, महाचिव राम बहादुर थापा बादल, सचिव नेक्र विक्रम चन्दले पनि बन्दसत्रमा आफ्नो धारणा राखे । सोही जारी महाधिवेशनमा विभिन्न किसिमका दृश्य पनि देखिए:

अमेरिकी माओवादीले भन्यो- ‘अमेरिकी साम्राज्यवाद मुर्दावाद’
महाधिवेशनमा भाग लिन आएका आरसिपी अमेरिकाका प्रतिनिधि रोबर्टले सुरुमै क्रान्तिकारी लालसलाम, अमेरिकी साम्राज्यवाद मुर्दावाद भनेर नेपाली भाषामै उल्लेख गरे ।
त्यसपछि उनले महाधिवेशनको शुभकामना व्यक्त गर्दै प्रचण्ड बाबुराम प्रवृत्तिको भण्डाफोर गरेर आफ्नो पार्टी भित्र रहेका प्रवृत्ति हटाएर अघि बढ्न समेत आग्रह गरे । सो क्रममा उनले प्रचण्ड बाबुरामले जे गर्न चाहेको थियो त्यो पूरा गरेको भन्दै प्रचण्ड बाबुरामको प्रवृत्ति बुझ्न नसक्नु पनि गल्ति रहेको उल्लेख गरे ।

एमाओवादी संशोधनवादी भासमा फसेको भारतीय माओवादीको निष्कर्ष
भारतमा सशस्त्ररत नक्सलवाडी र भारतीय कम्युनिष्ट पार्टी (माओवादी)ले एमाओवादी संशोधनवादी भासमा फसेको निष्कर्ष निकालेको छ ।
नक्सलवाडी र भाकपा माओवादी दुवैले महाधिवेशनका लागि पठाएको शुभकामना सन्देशमा यस्तो जनाइएको छ ।
दुवै संगठनले माओवादीले गर्ने आन्दोलनलाई पूर्ण समर्थनको प्रतिबद्धता पनि जनाएका छन्।

दुवै संगठनले दाहाल नेतृत्वको एमाओवादी संशोधनवादी भासमा फसेको र उनीहरुबाट बाँकी क्रान्ति पूरा हुनेमा आफूहरुलाई विश्वास नलागेको उल्लेख गरेका छन्।

उनीहरुले माओवादी महाधिवेशन उद्घाटन सत्रमा चिनियाँ राजदूत योङ हुलाङको उपस्थितिलाई लिएर आपत्ति पनि जनाएका छन् ।

प्रचण्ड बाबुरामप्रति इटालीको माओवादी आक्रामक

मास्कसिस्ट कम्युनिष्ट पार्टी इटालीले क्रान्तिलाई विसर्जन गरेको भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड र उपाध्यक्ष बाबुराम भट्टराईप्रति रुष्टता प्रकट गरेको छ ।

नेकपा माओवादीको सातौँ महाधिवेशनमा शुभकामना दिने क्रममा इटालीकाच प्रतिनिधि फ्लाओ प्रचण्ड र बाबुरामले क्रान्ति विसर्जन गरेको भन्दै आक्रोशित बनेका हुन् ।

उनले शुभकामनाका क्रममा पुनःगठित यस पार्टीले प्रचण्ड र बाबुरामको पर्दाफास गर्ने विश्वास पनि व्यक्त गरे ।

शुभकामनाका क्रममा फ्लाओले जनसेना, जनअदालत तथा जनसरकार नभएको अवस्थामा नेपाली क्रान्ति अत्यन्तै गम्भीर मोडमा रहे पनि आफूहरु काँधमा काँध जोडेर अघि बढ्न तयार रहेको जनाए ।

विश्वभरका कम्प्युनिष्टहरुले नाँचे
महाधिवेशनको पाँचौँ दिन बन्द सत्र चलिरहेको बेला बिचमा उदघोषकले झँम्कार मगरलाई आफ्नो प्रस्तुति पस्कन आग्रह गरियो ।

उनी सारंगीसहित अगाडी उपस्थित भए त्यसपछि उनले हलमा उपस्थितलाई लालसलाम गर्दै कहिले हामी पूर्व कहिले हामी पश्चिम गीत गाउन थाले । सोही क्रममा केही कलाकार क्षेत्रका प्रतिनिधिले त गीतमा नृत्य भरिरहेका थिए केही छिनमै केन्द्रिय सदस्य असारे काका पनि अग्र स्थानमा आएर ज्याकेट फुकालेर नाच्न सुरु गरे ।

सोही गीतमा केही छिनमै महाधिवेशनमा भाग लिन आएका विश्वभर प्रतिनिधिहरु पनि नाच्न सुरु गरे । तर उनीहरु आफैँ भने नाच्न सुरु गरेका होइनन्, एक सहभागीले आग्रह गर्दै हात अठ्याएर तानेपछि उनीहरु पनि हतार हतार ज्याकेट फुकाल्दै नाच्न सुरु गरेका थिए । यसरी नाच्नेहरुमा आरसिपी अमेरिकाका रोबर्ट, मास्कसिस्ट कम्युनिष्ट पार्टी इटालीका फ्लाओ, टर्की माओवादीकी लिना लगायत भाइचारा पार्टीका प्रतिनिधिहरु थिए । बन्द सत्रको बिच बिचमा माइला लामा, खुसीराम पाख्रिन, टेक बलम्पाखी लगायतले बेला बेला क्रान्तिकारी गीत सुनाईरहेका हुन्थे ।

सुरक्षा व्यवस्थामा कडाई
१२ सय प्रतिनिधि ४ सय पर्यवेक्षक, १ सय कलाकार तथा ३ सय स्वयम् सेवक रहेको प्रज्ञा भवनमा सुरक्षा व्यवस्था भने निक्कै कडा रहेको छ । गेटबाट प्रज्ञाका कर्मचारी, प्रतिनिधि तथा पर्यवेक्षकबाहेक अरुलाई छिर्न दिइएको छैन । त्यस्तै बन्दसत्र हल भित्र प्रतिनिधि तथा पर्यवेक्षकलाई पूर्ण रुपमा मोबाइल निषेध छ, पत्रकारहरुलाई भने निश्चित समयमा बोलाएर दृश्य कैद गर्न दिइए पनि ३/४ मिनेट बित्न नपाउँदै धन्यवाद दिएर बाहिर जान आह्वान गरिदै आइएको छ । सोही महाधिवेशन आज नयाँ नेतृत्व र नयाँ कार्यदिशासहित सकिदैछ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।