पुस २९ – समाजमा महिलामाथि बलात्कार तथा हिंसा बढ्दै गइरहेको बेला २० वर्षीया एक युवतीले त्यसै अवधारणामा केन्द्रित रहेर खिचिएका आफ्ना तस्वीरहरू प्रदर्शनमा राखेकी छिन् ।

‘दामिनी’ नाम दिइएको यो प्रदर्र्शनीमा पुष्पा पलान्चोकीले समाजमा बढ्दै गइरहेको महिलामाथिको हिंसालाई तस्वीरमार्फत उजागर गर्न आफैं मोडल बनेर खिचाएका तस्वीरहरू राखिएका छन् ।

“म पहिलेदेखि नै महिलाका मुद्दालाई संवेदनशील भएर सोच्ने गर्दथेँ”, उनले भनिन्, “भारतको दिल्लीमा भएको बलात्कार र नेपालका विभिन्न स्थानमा भएका महिला हिंसाका घटनाहरूले मलाई यो प्रदर्शनी गर्न प्रेरित ग¥यो ।”

झम्सिखेलस्थित आर्टिस्ट ग्रुफ ग्यालरीमा शुक्रबारदेखि सुरु भएको यो प्रदर्शनी आगामी माघ ४ गतेसम्म चल्नेछ । त्यसपछि पाटन या भक्तपुरको दरबार क्षेत्रमा प्रदर्शन गर्ने उनको योजना छ ।

बलात्कारअघिको महिलाको अवस्था, बलात्कारपछिको सामाजिक विभेद तथा पीडालाई तस्वीरमार्फत देखाउन खोजिएको छ ।

फोटोग्राफर अभिषेक मास्के र सिलु जैनले ती तस्वीर खिचेका हुन् । प्रदर्शनीमा ४० वटा तस्वीर राखिएका छन् । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।