पुस २५ – दुई बालिकालाई बलात्कार गर्ने दुईमध्ये एकलाई प्रहरीले गिरफ्तार गरेको छ भने एक अझै फरार छन् ।
दक्षिणी धादिङको नौबिसे गाविस–४ जुगेडीमा एक बालिकालाई बलात्कार गर्ने युवकलाई इलाका प्रहरी कार्यालय खानीखोलाले आज बिहान गिरफ्तार गरेको हो ।
नौ वर्षीयालाई शनिबार बलात्कार गरी फरार भएका दीपेश राईलाई स्थानीयवासीको सहयोगमा प्रहरीले गिरफ्तार गरेको हो ।
घरमा बसिरहेकी बालिकालाई ललाइफकाइ खानेकुरा दिएपछि बलात्कार गरेका राई घरबाट भागेका थिए । स्थानीयवासीले अभियुक्तको खोजी गरी प्रहरीलाई बुझाएका थिए ।
इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार राईलाई बालिकालाई बलात्कारर गरेको अभियोगमा मुद्दा चलाइने छ ।
यसैगरी मैदी गाविस–९ की आठ वर्षीयालाई बलात्कार गरेर फरार भएका स्थानीयवासी ६५ वर्षीय साने सार्कीलाई अझै पनि प्रहरीले गिरफ्तार गर्न नससकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।