पुस २४ – सार्वजनिकस्थलमा विद्यार्थीहरूले स्कुल तथा कलेजबाट भागेर स्कुल तथा कलेज पोसाकमा जिल्लाका सार्वजनिक स्थानमा बसेर अश्लिल एवम् यौनजन्य क्रियाकलाप गरेको पाइएमा प्रहरीले पक्राउ गरी कारबाही गर्ने भएको छ ।
भक्तपुरका सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदालगायत सार्वजनिक क्षेत्रमा कलेज पोसाक मै बसेर यौनजन्य गतिविधि गर्ने छात्रछात्रा बढेपछि स्थानीय कै आग्रहमा प्रहरीले यस्ता गतिविधि नियन्त्रण अभियान सुरु गरेको हो ।

महानगरीय प्रहरी परिसर भतmपुरका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक पुष्कर केसीले बिहान कलेजको समयमा कलेज पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा जोडीका रूपमा भेटिए र यौनजन्य गतिविधि गरेको पाइएमा तुरुन्त पक्राउ गरी कारबाही गर्ने बताए ।

उनले भने, “घरबाट विद्यालय तथा कलेज जाने भनेर पोसाक लगाएर हिँड्ने तर सार्वजनिकस्थल बसेर अश्लिलता फैलाउनेलाई नियन्त्रमा लिइन्छ र कारबाही गरिन्छ, यो अभियान जिल्लाभरी सुरु गरिएको छ ।”

भक्तपुरका सार्वजनिकस्थलमा मात्र नभई विद्यालय, कलेजको समयमा विद्यार्थीहरू यदि पोसाकमै सिनेमा हल, होटल, गेस्ट हाउस तथा रेस्टुरामा भेटिए प्रहरीले नियन्त्रणमा लिने जनाएको छ ।

भतmपुरको ऐतिहासिक सिद्घपोखरीमा विद्यार्थी कलेज पोसाकमा बिहानै जोडीमा आउने र समाजलाई अपच हुने खालका यौनजन्य क्रियाकलाप हुने हुँदा स्थानीय बासिन्दालाई समेत असर पर्ने गरेको स्थानीय लक्ष्मी कोजुले बताए ।

कलेजको पोसाकमा विद्यार्थी सार्वजनिकस्थलमा भेटिए पक्राउ गरी भविष्यमा यस्तो गतिविधि नगर्न सचेत गराई सुरुमा अभिभावक बोलाएर छोड्ने र पटकपटक फेला परेमा सार्वजनिक ऐनअन्तर्गत कारबाही गरिने प्रवक्ता केसी बताए ।

भक्तपुरमा यस्ता गतिविधि हुने स्थानहरूमा सिद्घीपोखरी, कमलपोखरी, च्यामासिंहको ब्रम्हायनी मन्दिर परिसर, सूर्यविनायक गणेश मन्दिर परिसर, दरबार स्क्वायर क्षेत्र, चाँगुनारायण मन्दिर परिसर, कमलबिनायकको टाउन प्लानिङ र सल्लाघारीको च्वङ्गा गणेश क्षेत्र पर्दछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।