पुस २४ – चिसोका कारण विमान सेवा समेत अवरुद्ध भएपछि उपप्रधानमन्त्री विजयकुमार गच्छदार विराटनगरबाट गाडीमै राजधानी फर्किएका छन् ।
पूर्वी क्षेत्रमा तीन दिनदेखि बढ्दै गएको चिसोले त्यहाँको जनजीवन कष्टकर बन्दै गएको हो ।
चिसोले गर्दा विराटनगर बजारमा मानिसको आवातजावत समेत घटेको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीको चहलपहल पनि न्यून बन्दै गएको छ ।
चिसोको प्रभावले हिजो र अस्ति दुई दिन विराटनगर विमानस्थलमा कुनै पनि विमान आउन नसकेपछि दुई दिन पहिले विशेष कामले विराटनगर आएका उपप्रधानमन्त्री विजयकुमार गच्छदारले विमान सुचारु हुन नसक्दा हिजो आफ्नै गाडीबाट काठमाडौँ फर्किएका हुन् ।
आज बिहान चिसो कम नभए पनि आकास सफा रहेकाले विराटनगर विमानस्थलमा बुद्ध र अग्नि विमान कम्पनीले उडान भरेको बुद्ध एयर कार्यालयले जनाएको छ ।
अत्यधिक जाडोले गर्दा बृद्धबृद्धा, बालबालिका, बिरामी र अशक्तहरु बढी प्रभावित भएका छन् । दिउँसो घाम नलाग्ने भएकाले अझ केही दिन बढी चिसो रहने मानिसहरुको अनुमान छ ।