पुस २० – उमेर नपुगी बिहे गरिरहेको अवस्थामा पाँचथरमा बेहुला–बेहुलीसहित आफन्त पक्राउ परेका छन् ।
अविभावकको मञ्जुरी बिना नाबालिकालाई भगाएर विवाह गर्दै गरेको भन्दै जिल्ला बाल क्लव सञ्जालले उजुरी गरेपछि पाँचथरको फिदिम–२ मा प्रहरीले छापा मारी बेहुला–बेहुली तिनका अबिभावक र आफन्तलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बेहुला राजन, बेहुली सुमित्रा बेहुलाका बाबु धनबहादुर सहित पुरोहित र आफन्त छन् ।
पाँचथरको लुम्फावुङ गाविस वडा नम्वर ६ की १५ बर्षीय सुमित्रा घिमिरेको फिदिम २ का १७ बर्षीय राजन धमलासँग बिबाह भइरहेको भनी जिल्ला बाल क्लब सञ्जालका पदाधिकारीले उजुरी गरेपछि बेहुला बेहुली सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
अविभावकको मञ्जुरीनामा बिनानै राजनले र सुमित्रालाई केहिदिन अगाडी भगाएकाले शुक्रबार केटा पक्षका अबिभावकले प्रिति भोजको आयोजना गरेका थिए ।
बालक्लवले प्रहरीमा दिएको जाहेरीमा नाबालिकालाई प्रलोभनमा पारी केटा पक्षले जवरजस्ती विवाह गराएको उल्लेख गरिएको छ ।
जाहेरीमा विवाह भइरहेका बालक बालिकाको उमेर नपुगेकाले बद्धर हुनुपर्ने समेत माग गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकृत गोपाल ढकालले पक्राउ परेका दुलाहा दुलही सहितका व्यक्तिहरुलाई कानूनी कार्वाहि अगाडी बढाउने बताएका छन् ।
मुलुकी ऐनले १८ बर्ष मुनिका बालबालिकाको बिबाह गर्न दुबै पक्षका अबिभावकको समर्थन हुनु जरुरी छ ।
यस्तो अवस्थामा बाल बिबाह गर्ने गराउनेलाई ६ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैंया सम्म जरिवाना हुने कानूनी प्रावधान रहेको अधिवक्ता टिका तिम्सिनाले बताए । सौजन्यः लक्ष्मी गौतम








