पुस १८ – सशस्त्र प्रहरी परिचालन गरिए पनि चितवनको माडीमा हात्ती आतङ्क भने रोकिएको छैन ।

चितवन निकुञ्जले ध्रुवे हात्तीको खोजी जारी रहँदा सोही हात्ती र अन्य हात्तीले यहाँको माडीमा भने आतङ्क मच्चाउन छाडेको छैन ।

हिजो दुई घर भत्काएको सो क्षेत्रमा आज पनि दुई घर भत्काएको स्थानीयवासी रामप्रसाद भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार आज माडी अयोध्यापुरी निवासी लोकराज बराल र तुलसी पौडेलको घर भत्काएको हो । स्थानीयले भने भागेर ज्यान बचाएका छन् ।

घरमा क्षति पु¥याएसँगै अन्नसमेत छरपस्ट पारेको पीडितले बताएका छन् । उनीहरुका अनुसार हिजो साँझदेखि रातभरि हात्तीको आतङ्क रहेकामा आज बिहानबाट भने हात्ती जङ्गल पसेको छ ।

कतिबेला हात्ती आउने हो भन्ने डरमा स्थानीय रहेका छन् । हिजो मात्रै माडीको अयोध्यापुरी–९ कुशुमेखोलामा सुकुम्वासी बस्तीको दुई घर भत्काएको थियो । कुसुमेखोलाका शिव प्रजाको घर हात्तीले भत्काएको हो । हात्तीले घरमा रहेको सबै अन्न पनि नष्ट गरिदिएको स्थानीय मानबहादुर विष्टले जानकारी दिए ।

हात्तीले रु २५ हजार बराबरको क्षति पु¥याएको बताइएको छ । हात्ती आएको थाहा पाएकाले प्रजा परिवारले भने भागेर ज्यान बचाएका छन् ।

हात्तीले पु¥याएको क्षतिको विषयमा जानकारी गराउन र क्षतिपूर्तिको माग गर्दै पीडित पक्षले अयोध्यापुरीमा रहेको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको कार्यालय, गाविस कार्यालय, अयोध्यापुरी रेडक्रस, बगईमा रहेको आर्मी क्याम्प र सर्वदलीय समितिसमक्ष ज्ञापनपत्र बुझाएको स्थानीयले बताएको राससमा उल्लेख छ ।

सो क्षेत्रमा सुरक्षाका लागि एक सातादेखि २० जना सशस्त्र प्रहरीसमेत परिचालन गरिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।