पुस १६ – भद्रपुरस्थित सीमावर्ती मेची खोलास्थित बाँसेपुलबाट दुई नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरी कारागार चलान गरेकामा तिनका परिवारजनले रिहाइका लागि प्रयास गरिदिन सबै पक्षसँग आग्रह गरेका छन् ।
केही व्यक्तिहरूले उक्त खोलामा बाँसेपुल निर्माण गरी पुल भएर आवतजावत गर्नेहरूसँग रकम असुल्ने गरेको कारण देखाई यही पुस ९ गते किसनगञ्ज जिल्लाका डिएसपी पुनम केसरीको नेतृत्वमा आएका टोलीले भद्रपुर–१२ बस्ने विकासकुमार गुप्ता र सुरज कामतीसहित अरु दुई भारतीयलाई पक्राउ गरेको थियो ।
सीमावर्ती नेपाल र भारतका प्रशासनिक अधिकारीको स्वीकृति बिना आफुखशी पुल बनाई रकम असुल्ने कार्य अवैध भएको ठहर गरी उनीहरूलाई पक्राउ गरिएको बुझिएको छ ।
मेची नदीमा नेपालको पक्षबाट पुल निर्माणको कार्य भइरहेकाले यत्तिखेर खोलाको पूर्वी भाग भएर पानी बग्ने गरेको छ ।
यसको फाइदा उठाई सीमावर्ती भारत गलगलियाका केही व्यक्तिले खोला भारत भएर बग्ने गरेको भनेर बाँसेपुल निर्माण गरी आवतजावत गर्नेहरूसँग रकम उठाइआएको थियो ।







