पुस १४ – दिल्लीस्थित एक बसमा सामुहिक बलात्कारमा परेकी युवतीले १२ दिनको कठोर जीवन मरणको संघर्षसँगै सिंगापुरमा उपचारको क्रममा ज्यान गुमाउन पुगेकी छिन् ।

सिंगापुरको माउन्ट एलिजाबेथ अस्पतालमा उपचार गराईरहेकी ती युवतीको शनिवार विहान करिब २ बजे हामीबाट बिदा लिएकी हुन् ।

सामुहिक बलात्कार र कुटपीटका कारण गम्भीर घाईते भएकी २३ वर्षिया उनको दिल्लीको अस्पतालमा तीन पल्ट अपरेशन गरिएको थियो । तर स्वास्थ्यमा सुधार नआएपछि उनको थप उपचारका लागि बिहिबार सिंगापुर लगिएको थियो ।

सिंगापुरको अस्पतालमा भर्ना भएपछि अस्पतालले शरीर र दिमागमा गम्भीर चोट लागेकाले अस्पतालमा भर्ना भएदेखि नै युवतीको अवस्था अत्यन्त जटिल रहेको र उनका धेरै अंगले काम गर्न छोडेपछि मृत्यु भएको एक वक्तव्य मार्फत जनाएको छ ।

अत्यन्त नाजुक अवस्थामा पनि ती युवतीमा मृत्युसंग लड्ने साहस देखिएको भएपनि शरीरमा गम्भीर चोट र आघातका कारण उनलाई जीवीत राख्न असम्भव भएको विज्ञप्तीमा उल्लेख छ ।

मान्उन्ट एलिजाबेथ अस्पतालमा ८ जना विशेषज्ञको टोलीले बिरामीको अवस्था स्थिर राख्न निरन्तर प्रयास गरेका थिए । तर मुटुमा समस्या देखिएको, फोक्सो र पेटमा संक्रमण देखिएको र दिमागमा चोट लागेका कारण दुई दिन सम्म युवतीको स्वास्थ्यमा कुनै सुधार नआएको चिकित्सकहरुले बताएका छन् ।

डिसेम्बर १६ तारिखमा भारतको दिल्लीमा गुडिरहेको बसमा ती युवतीको सामुहिक बलात्कार र कुटपीट भएको थियो ।

उनी त्यहाँ सामुहिक बलात्कारको सिकार बनेपछि यो विषयले भारतमा अहिले पनि तहल्का पिटेको छ । उनका दोषीहरुलाई फासी समेत दिनुपर्ने मागहरु भारतीय संसदमा समेत उठिरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।