काबुल – अफगानिस्तानको एक प्रहरी अधिकारीले आफ्ना पाँचजना सहकर्मी प्रहरीको हत्या गरेका छन् ।
अफगानिस्तानको मजार ए सरिफमा रहेको एक प्रहरी चौकीमा प्रमुखसमेत रहेका ती प्रहरी अधिकारीले आफ्नै पाँच प्रहरी साथीको हत्या गरेको पुष्टि भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।
दुर मोहम्मद नामका ती प्रहरी अधिकारीले गरेको आक्रमणमा परी पाँचै जनाको ज्यान गएको बताइएको छ ।
मजार ए सरिफको पश्चिमी क्षेत्रमा अवस्थित सो चौकीको प्रमुख रहेका उनले चौकीमा राखिएका हतियार प्रयोग गरी त्यहाँ रहेका अन्य प्रहरीको हत्या गरेका समाचारमा जनाइएको छ । सो प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सो कुराको पुष्टि गरेका छन् । उनका अनुसार ती प्रहरी अधिकारीले आफ्ना साथीको हत्यागरी भागेका र उनी सम्भवत तालिवानीहरुको आतङ्कवादी सङ्गठन प्रवेश गरेको हुनसक्ने पनि बताए । सो स्थानमा तालिवानीहरुको व्यापक प्रभाव रहेको पाइएपछि गाउँलेहरुलाई तालिवानीहरुको सम्भावित आक्रमणबाट जोगाउन सो प्रहरी चौकी राखिएको थियो ।
अफगानिस्तानमा प्रहरी र राष्ट्रिय सेनाले समेत आफ्नो फौजका सहकर्मी तथा नेटोसम्बद्ध सैनिकलाई पनि हत्या गर्ने यो पुरानै चलनका रुपमा रही आएको छ । केही समयअघिमात्र पनि एकजना अफगान सैनिकले सँगैको फौजका साथी नेटो सैनिकको हत्या गरेका थिए ।








