पुष ३ – प्रचण्डलाई गालामा झाप्पु हान्ने बाग्लुङका पदम कुँवर र उनका भिनाजुले साथमा २८ हजार बोकेर निक्कै समय काठमाडौँस्थित सिडिओ कार्यालयमा बिताए ।
उनीहरु त्यहाँ पुग्नुको उद्देश्य थियो– पदमलाई जेलबाट निस्कदा प्रचण्डले दिएको २८ हजार धरौटी काठमाडौँका सिडिओ चुँडामणी शर्मामार्फत फिर्ता गर्नु । केही समयपछि पदम र उनका भिनाजु भीम भारतीले सिडिओ शर्मालाई भेटाए ।
त्यसपछि पदमले आफूलाई प्रचण्डले दिएको धरौटीबापतको २८ हजार फिर्ता गर्न आएको सुनाएपछि सिडिओ शर्मा एकछिन त के गरु के जस्ता भए । त्यसपछि सिडिओले आफूले उक्त पैसा नलिने अडान लिए । त्यति मात्रै होइन सिडिओले विभिन्न विषयमा पदमलाई सम्झाउन समेत भ्याए । हुँदाहुँदै पनि पदम भने आफूलाई जेलबाट निकाल्न देश विदेशबाट लाख भन्दा बढी पैसा उठी सकेको अवस्थामा अध्यक्षकै पैसाबाट निस्कदा आलोचना खेप्नु परेको र पैसा दिनेहरुको अपमान भएकाले आफूले पैसा फिर्ता गर्ने अडान लिए । त्यही पनि सिडिओले पैसा फिर्ता लिन नमाने पछि पदम र उनका भिनाजु यसो हेराहेर गर्दै डेरा तिर फर्किए ।
घटना सोमबार दिउँसो ३ बजेतिर बबरमहलस्थित सिडिओ कार्यालयको हो । मंसिर १ गते एमाओवादीद्वारा आयोजित चियापान कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आक्रोशमा आएर गालामा झाप्पु हानेका पदम सोमबार धरौटीबापतको पैसा प्रचण्डलाई फिर्ता गर्न जाँदा सिडिओ पैसा फिर्ता नै लिएनन् ।
प्रचण्डले जानीजानी पनि बाहिर सहानुभूति छ भन्दै २६ दिनसम्म कानुनी प्रक्रिया नछोट्याएर प्रहरी नियन्त्रणमा राखेको, तिर्न नसक्ने गरी २८ हजार धरौटी मागेर जेल पठाएको तथा धरौटी तिर्न नसकेपछि जेलसम्म पुर्याएको र देश विदेशबाट पदमलाई छुटाउन डेढ लाख भन्दा बढी पैसा उठीसकेपछि मात्रै लाज ढाक्न प्रचण्डले पैसा दिएको उनीहरुको भनाई छ ।
सिडिओ कार्यालयबाट फर्कदै गर्दा किन पैसा फिर्ता गर्न आएको नि त भन्ने प्रश्नमा पदम भिनाजु भी भारतीले प्रचण्डले निकाल्न चाहेको भए जेल नै नपठाई एक रुपैयाँ नै नतोकी पनि निकाल्न सक्ने तर उनले त्यसो नगरेको र २८ हजार तिर्न नसकेपछि देश विदेशबाट पदमलाई छुटाउन पैसाको ओइरो लागेकाले लाज ढाक्न दिएको पैसा उसैलाई फिर्ता गर्न उचित लागेर फिर्ता गर्न आएको सुनाए ।
उनले उक्त प्रचण्डको पैसा फिर्ता नगर्नु नै राम्रो भएको सिडिओले बताएको जानकारी दिँदै आफूले उक्त रकम लिन नसक्ने बताएको जानकारी दिए ।