पुस ३ – चीन सरकारको अनुदान सहायतामा साढे नौ किलोमिटर लामो कलङ्की– कोटेश्वर सडक दश ‘लेन’ मा विस्तार हुने भएको छ ।

चक्रपथअन्तर्गतको उक्त सडकखण्ड विस्तार गर्नेसम्बन्धी सम्झौतापत्रमा सडक विभाग र साङ्घाइ कन्सट्रक्सन ग्रुपबीच हस्ताक्षर भएको छ ।

विभागमा आज आयोजित कार्यक्रममा सडक विभागका महानिर्देशक दिनकर शर्मा र साङ्घाइ कन्सट्रक्सन ग्रुपका नायब महानिर्देशक सेन सिइङले सम्झौतापत्रमा हस्ताक्षर गरे ।

चिनियाँ प्रधानमन्त्री वेनजिया बाओको गत वर्ष पुस ३० गते भएको नेपालको औपचारिक भ्रमणका बेला चक्रपथ विस्तारको सैद्धान्तिक सहमति भएअनुरूप आगामी तीन महिनाभित्र निर्माण प्रारम्भ हुने उक्त सडकखण्डको लागत रु चार अर्ब रहेको छ ।

दायाँबायाँ चार लेनको दुईतर्फी सडक र दुबैतर्फ एकएक लेनको साइकल लेन र पदयात्री मार्ग निर्माण गरिने र तीनस्थानमा आकाशेपुल बनाइने महानिर्देशक शर्माले बताए ।

“चीनबाट दुई सयजना मुख्य कामदार र आवश्यक उपकरण ल्याइने र ती श्रमिकलाई आवासको व्यवस्था गर्न कम्तीमा दुई महिना लाग्ने भएकाले तीन महिनापछि काम सुरु हुन्छ”– द्विपक्षीय सम्झौताको एउटा अंश उद्धृत गर्दै उनले भने राससमा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।