पुष ३ – पटक पटक समय थप गर्दा पनि राजनीतिक दलले राष्ट्रिय सहमति गर्न नसकेपछि राष्ट्रपतिले पाँच दिनको समय थप गरेका छन् ।
मंगलबार राष्ट्रपति डा.रामवरण यादवले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पाँचौ पटक समय थप गरेका हुन् । मंगलबार बिहान भएको शीर्ष दलसँगको छलफलमा सहमतिका लागि तीन देखि पाँच दिनसम्मको समय थप गर्न आग्रह गरेपछि राष्ट्रपतिले समय थप गरेका हुन् ।
राष्ट्रपतिले सहमतिका लागि चौथो पटक थपेको समय सोमबार नै सकिएको भए पनि आजको राजनीतिक दल सँगको छलफल पछि थप पाँच दिनको सयम थप भएको हो ।
राष्ट्रपति कार्यालयबाट कार्यालयका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘ राजनैतिक दलहरुको माग बमोजिम संवत् २०६९ साल पौष २ गते सोमबारका दिनसम्म समय थप गर्नु भएकोमा राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनैतिक दलहरुले फेरि पनि थप समय माग गरेको हुँदा माग बमोजिम संवत् २०६९ साल पौष ७ गते शनिवारका दिनसम्म राजनैतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि समय थप गर्नु भएकोले यो विज्ञप्ति प्रकाशन गरिएको छ ।
राष्ट्रपति कार्यालयले अन्तरिम संविधानको धारा ३८९१० बमोजिम राष्ट्रिय सहमतिको सरकार बनाउन मंसिर २८ गते चौथो पटक म्याद थप गरेको थियो । यस अघि पटक पटक थपिएका समयमा समेत राजनीकि दलले सहमति गर्न सकेका थिएनन् ।









