मंसिर ३०- जहाँ सरुवा भयो त्यही नयाँ श्रीमती बनाउँने एक प्रहरी जवान निलम्बनमा परेका छन् ।
बर्दिया स्थायी घर भई हाल इलाका प्रहरी कार्यालय लुहाम सल्यानमा कार्यरत प्रहरी जवान सचेतन लामिछानेलाई अन्तरपार्टी महिला सञ्जाल रुकुमले कारबाहीको माग गरेको हो ।

रुकुम बस्दा रुकुमकोटकी सुनिता सुनारसँग बिहे गरी अलपत्र पारेको आरोप सञ्जालले लगाएको छ । दुई वर्षअघि सुनितासँग बिहे गरेका लामिछानेले छोरी जन्मेसँगै सुनितालाई बेवास्ता गर्दै आएका छन् । मेरो सम्पत्ति देखेर पछि लागेकी चरित्रहीन आइमाई भन्दै लामिछानेले सुनितालाई धम्क्याउने गरेको सञ्जालकी सल्लाहकार तथा नेपाल महिला सङ्घ रुकुमकी सचिव मनिषा भण्डारीले बताइन् ।

सञ्जालका अनुसार प्रहरी लामिछानेले सुनितासँगै अन्य चार महिलासँग पनि बिहे गरेका छन् । रुकुमकै कोल गाविसकी एक किशोरीबाट छोरी जन्माएका उनले सुरुमा रुकुम सरुवा भएर आउँदा अर्की श्रीमती ल्याएका थिए भने हाल दाङ भैसी नाकाकी एक महिलासँग बिहे गरेका छन् ।

उनीबाट पनि एक छोरी रहेको पाइएको छ । एक÷एक छोरीसहितकी यसअघिकी दुईवटी श्रीमती हाल कहाँ छन् भन्ने पनि केही नखुलेको सञ्जालले बताएको छ ।

न्याय र उचित क्षतिपूर्तिको निम्ति सुनिताले सञ्जाललाई गुहारेपछि उनलाई न्याय दिलाउन सञ्जाल लागि परेको हो । क्षतिपूर्ति दिनुपर्ने, बिहे दर्ता र छोरीको जन्मदर्ता गराउनुपर्ने माग राखेर सञ्जालसहित जिल्लास्थित अन्य सरोकारवाला निकाय अहिले आन्दोलनमा छन् । पीडित सुनितालाई न्याय दिलाउन उनीहरू दिनहुँ जिल्ला प्रशासन र जिल्ला प्रहरी मा धाइरहेका छन् ।

आरोपित लामिछानेलाई रुकुम झिकाएर दुवैपक्षबीच सल्यानमा गएर बिहे दर्ता र छोरीको जन्मदर्ता गराउने समझदारी भएको भएपनि समझदारी नमानेर ऊ भागेर गएपछि समस्या जटिल बनेको सञ्जालकी सल्लाहकार भण्डारीले बताइन् ।

‘ऊ कार्यरत जिल्ला सल्यान गएर व्यक्तिगत घटना दर्ता ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा बिहे र छोरीको जन्मदर्ता गर्ने समझदारी भएको थियो’, भण्डारीले भनिन्, तर, ऊ सुनितालाई नलिएरै यहाँबाट भागेछ ।’

अर्की श्रीमतीका साथ रुकुम आएका लामिछाने यहाँबाट भागेपछि महिलाले पुनः जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टसँग छलफल गरेका छन् । आफूहरूसँगको छलफलका क्रममा डिएसपी भट्टले जिम्मेवार मान्छेसँग सुनितालाई सल्यान पठाई त्यतैको प्रहरी को सहयोगमा पीडितलाई न्याय दिलाउन प्रयास गर्ने बताएको अन्तर पार्टी सञ्जालकी सदस्य निर्मला गिरीले बताइन् ।

सुनिताले न्याय नपाए प्रहरी जवान लामिछानेलाई पुनः जिल्लामा झिकाउने समझदारी रुकुम प्रहरी र महिला सञ्जालबीच भएको बताइएको छ ।
रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।