बाँके, २९ मङ्सिर । नेपालगन्जका विद्यार्थी लिलाधर भट्ट र कपिल द्विवेदी हत्याकाण्डका मुख्य आरोपी तराई जनतान्त्रिक पार्टी मधेसका बाँके बर्दियाका प्रमुख आदर्श भनिने मेराज साईलाई ७८ वर्षको जेल सजाय भएको छ ।
जिल्ला अदालत बाँकेका न्यायाधीश शेखरप्रसाद पौडेलको एकल इजलासले आज उक्त मुद्दाको फैसला गर्दै साईलाई दुई विद्यार्थीको अपहरणपश्चात् हत्या गरेको ठहर गरी ७८ वर्षको जेल सजाय सुनाइएको हो ।
त्यस्तै हत्याकाण्डका अन्य आठजना आरोपीमाथि पनि जेल सजायको फैसला भएको छ । हत्याकाण्डमा संलग्न रहेको आरोप लागेका मानव अधिकारकर्मी सिपी सिंहलाई भने अदालतले सफाइ दिएको छ । उक्त मुद्दाको एकसाता अघिदेखि बहस भइरहेको थियो ।
नेपालगञ्जको जयबागेश्वरी उच्च माविमा कक्षा १० मा अध्ययनरत १६ वर्षीय लिलाधर भट्ट र कक्षा ९ मा अध्ययनरत १५ वर्षीय कपिल द्विवेदीको दुई वर्षअघि असोज १४ गते अपहरणपछि निर्मम हत्या भएको थियो ।
प्रहरीले मेराजसहित १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो जसमध्ये नौ जना पुर्पक्षका लागि थुनामा छन् भने सिपी सिंह, रामसुरेश बर्मालगायत सातजना फरार रहेका छन् ।
रु दश लाख फिरौती लिएर पनि दुवै बालकको साईले निर्मम हत्या गरेका थिए । हत्यापश्चात् नेपालगञ्जका नागरिक, विद्यार्थीहरूले चर्को प्रदर्शनसमेत गरेका थिए ।
हत्यापछि रु १० लाख फिर्ता गराउने सरकारले आश्वासन दिए पनि हालसम्म पीडितले सो रकम पाउन सकेका छैनन् ।
हत्याकाण्डको फैसला सुन्न आज अदालतमा सार्वसाधारणको ठूलो भिड लागेको थियो । न्यायालयको फैसला आमजनताको खुसीको कुरा भएको द्विवेदीका बुबाले बताउनुभयो । रासस








