मङ्सिर ३० – दमौलीको बिपी वन बाटिकास्थित मानव निर्मित आगोको मुस्लोको सुरुङमा गत मङ्गलबार जलेर गम्भीर घाइते भएका व्यास–१ भादगाउँस्थित २८ वर्षीय सुरेश पन्थको बिहीबार राति मृत्यु भएको छ ।

सुरुङमा आगो लगाउने क्रममा जलेर गम्भीर घाइते भएका पन्थको वीर अस्पताल काठमाडाँैमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मिर्लुङ गाविस–४ निवासी ३६ वर्षीय शमशेरबहादुर लम्सालले मानव निर्मित आगोको मुस्लोको १०५ मिटरको सुरुङमा मोटसाइकल गुडाइ २० सेकेन्डमा दुरी पार गरी विश्व रेकर्ड राख्ने उद्देश्यले तयार पारेको सुरुङमा आगो लगाउनेक्रममा जलेर पन्थ गम्भीर घाइते भएका थिए ।

सोही आगोको मुस्लोमा जलेर गम्भीर घाइते बनेका व्यास–११ का २९ वर्षीय सुमित थापाको लाइफ केयर अस्पताल काठमाडाँैमा उपचार भइरहेको बताइएको छ ।

सो कार्यक्रमको आयोजक संस्था गण्डकी कम्प्युटर ट्रेनिङ सेन्टरका प्रोपाइटर वसन्त शदाशङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैबीच, मृतक सुरेश पन्थको परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखी पीडित पक्षले प्रदर्शन र जिल्ला प्रशासन कार्यालय तनहुँमा घेराउ गरेको छ ।

मृतकका परिवारलाई एक महिनाभित्र रु १० लाख उपलब्ध गराउने सहमति भएको पीडित पक्षले जनाएको छ । रासस
यो पनि पढ्नुहोस
विश्व किर्तिमानी बनाउने रहरले दुई जनाको ज्यानै जल्यो (फोटो फिचर पनि)

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।