एन्ड्रोइड अपरेटिङ सिस्टम (ओएस) भएका स्मार्ट फोन महँगो ठानेर नकिनी बस्नुभएको छ ? अब चिन्ता नलिनुस् । बजारमा ५ हजार रुपैयाँभन्दा कममा एन्ड्रोइड स्मार्ट फोन उपलब्ध हुन थालेका छन् । हाते कम्प्युटरका रूपमा प्रयोग गर्न सकिने एन्ड्रोइड सेट उत्पादकबीचको तीव्र प्रतिस्पर्धाले निकै सस्तिएका छन् । सर्च इन्जिनमा बजार कब्जा गर्दै गएको
गुगलको मोबाइल ओएस एन्ड्रोइड बजारमा आएको ५ बर्ष नबित्दै लोकपि्रयताको शिखरमा छ । कम्प्युटर चलाउनेहरूबीच माइक्रोेसफ्टले बजार पिटेजस्तै स्मार्ट फोन अपरेटिङ सिस्टममा एन्ड्रोइडले सबै प्रकारका ओएसलाई पछि पारेको छ । पुराना सेट फेर्दै ग्राहक एन्ड्रोइड सेट किन्न थालेका छन् । ‘टच फोनका अधिकांश ग्राहक एन्ड्रोइडमा सिफ्ट भएका छन्,’ कार्बनका मोबाइल बेच्दै आएको मुरारका ग्रुपको पशुपति ट्रेड लिंकका निर्देशक सिरिस मुरारका भन्छन्, ‘एन्ड्रोइड फोनको क्रेज नपत्याउने गरी विस्तार भएको छ ।’ गुगल इन्कले मोबाइल सेट उत्पादकलाई निःशुल्क उपलब्ध गराउने भएकाले एन्ड्रोइडको प्रयोग बढ्दो छ । जुनसुकै मोबाइल सेट उत्पादकले यसलाई आफ्नो अनुकूलको बनाएर प्रयोग गर्न पाउँछन् । यसलाई लोकपि्रयताको शिखरमा पुर्याउन सामसङले सघायो । त्यसपछि एलजी, मोटोरोला, एचटीसी, सोनीलगायतले यसको प्रयोग गरे । एन्ड्रोइड एक प्रकारको प्लेट र्फम हो, जसमा मोबाइल प्रयोगकर्ताले आफूलाई चाहिएको एप्लिकेसन्स -एप्स) प्ले स्टोरमा गएर डाउनलोड गर्न सक्छन् । ‘एन्ड्रोइडले मोबाइल फोनमा क्रान्ति ल्याएको छ,’ माइक्रोम्याक्सको सेटका बिक्रेता नेटवर्क सोलुसनका प्रबन्ध निर्देशक राहुल सचदेवा भन्छन्, ‘वन टचमा सबै काम गर्न सकिने सुविधा यही ओएसमा उपलब्ध छ ।’ यसलाई यति लोकपि्रय गराउने भूमिका एप्सको पनि छ । भाइबर लाउनलोड गरेर विश्वभर यो एप्स रहेको अर्का मोबाइलमा निःशुल्क फोन गर्न सकिन्छ । स्काइप डाउनलोड गरेपछि निःशुल्क भिडियो कल गर्न सकिन्छ । याहु मेसेन्जर, इबड्डी, गुगल टकलगायतले च्याट गर्न सकिन्छ । जी मेल, फेसबुक, गुगल प्लस, सर्च, नेभिगेसन, युट्युब, म्याप्सलगायत एप्स पहिल्यै यसमा लोड गरिएका हुन्छन् । ‘एन्ड्रोइड ओएस भएका सेट प्रयोग गर्दा उपभोक्तालाई हाते कम्प्युटर चलाएको अनुभूति हुन्छ,’ स्कलर्स र स्पाइसका एन्ड्रोइड सेट नेपालमा बिक्री गर्दै आएको टेलिटक नेपालकी मार्केटिङ मेनेजर गीता न्यौपाने भन्छिन्, ‘हातमै विश्व आएजस्तो ।’ लोडसेडिङ बढेकाले कम्प्युटर चलाउन नपाउनेलाई यस्ता स्मार्ट फोनले राहत दिएको उनको भनाइ छ ।
‘मोबाइलमा खर्च गर्न सक्नेलाई महँगा ब्रान्डेड सेट छन्,’ न्युरोडका एक मोबाइल सेट बिक्रेता भन्छन्, ‘धेरै खर्च गर्न नसक्नेहरूलाई समेत बजारमा सस्तोमा सेट आएका छन् । कलर्स, जी फाइभ, स्पाइस, कार्बनलगायत मोबाइलले ७ हजारदेखि १० हजार रुपैयाँसम्मका एन्ड्रोइड सेट उपलब्ध गराएका छन् ।’बजारमा विभिन्न ब्रान्डका मोबाइल सेट भए पनि एउटै सफ्टवेयर भएकाले तिनमा हुने सुविधा एकैखालका छन् । केहीले हार्डवेयरअनुसार सफ्टवेयरलाई आफ्नो अनुकूलको बनाएका छन् । केहीले पहिल्यै केही एप्सहरू मोबाइलमा इन्स्टल गरेर सेटको फिचरमा समावेश गरेका छन् । कतिपय सेट दुई वटा सिम राख्न मिल्ने छन् । कलर्सले एन्ड्रोइडका ३ वटा सेट बजारमा ल्याएको छ । एक्स फ्याक्टर सिरिजका ती सेटमा एक्स फ्याक्टर मिनी, एक्स फ्याक्टर र प्सल छन् । तिनको मूल्य क्रमशः ७ हजार ४ सय ९५, ८ हजार ९ सय ९९ र १० हजार ५ सय ५५ रुपैयाँ पर्ने टेलिटककी मार्केटिङ मेनेजेर न्यौपानेले बताइन् । तीन वटै सेटमा एन्ड्रोइडको २.३.६ जिन्जरब्रेड भर्सन प्रयोग गरिएको छ । प्लसमा ८ सय मेगाहर्ज र अरू दुई वटामा १ गिगाहर्जका प्रोसेसर छन् । एक्स फ्याक्टर र मिनीमा २ सय ५६ एमबी तथा प्लसमा ५ सय १२ एमबीको र्याम छ । ‘यति सस्तोमा सेट पाएपछि एन्ड्रोइड खोज्नेले बजेट अभावमा मन खुम्च्याएर बस्नुपर्दैन,’न्यौपानेले भनिन् ।
कम्पनीले फेसबुक, डल्पिmन ब्राउजर, भाइबर, एंग्रीबर्डलगायत एप्स पहिल्यै इन्स्टल गरेर उपलब्ध गराउँछ । सबै सेटका साथमा ८ जीबीको मेमोरी कार्ड र दुई वटा रंगीन सेट कभर उपलब्ध गराउने न्यौपानेले जानकारी दिइन् । टेलिटकले स्पाइसको एमआई २८० मोडलको सेट ८ हजार २ सय ५० रुपैयाँमा उपलब्ध गराउँछ । यसमा २.३ भर्सनको ओएस, दुई वटा सिमलगायत विशेषता छन् । कार्बनले ए १ मोडलको सेट ७ हजार ९ सय रुपैयाँमा उपलब्ध गराउँछ । यस सेटसँगै ८ जीबीको मेमोरी कार्ड उपलब्ध गराउने पशुपतिका निर्देशक मुरारकाले बताए । यसको दुई सिम लाग्ने ए१प्लस सेटको ७ हजार ९ सय ९९ रुपैयाँ पर्छ । माइक्रोम्याक्सले केही दिनभित्र ६ हजार रुपैयाँमा ए २५ मोडलको सेट बजारमा ल्याउने तयारी गरेको बताए । यसमा १ गिगाहर्जको प्रोसेसर हुने छ । कम्पनीले बजारमा ए ६० मोडलको सेट ९ हजार रुपैयाँमा उपलब्ध गराउँदै आएको नेटवर्क सोलुसनका प्रबन्ध निर्देशक सचदेवाले बताए । कल मोबिलिटीले जी फाइभका सेट ८ हजार रुपैयाँदेखि उपलब्ध गराउँदै आएको कम्पनीकी अञ्जु मित्तलले बताइन् । उनले छिट्टै ५ हजार रुपैयाँदेखिका एन्ड्रोइड ओएस भएका सेट उपलब्ध गराउने दाबी गरिन् । लीलानाथ घिमिरे, सौजन्य : कान्तिपुर