मंसिर २६ – मंसिर १ गते एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गालामा एक थप्पड प्रहार गर्ने बाग्लुङका पदम कुँवर परिवारसँग प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलसँग पुरानो रिसईबी रहेको खुलेको छ ।
प्रचण्डलाई गालामा थप्पड हानेपछि २८ हजार धरौटी तिर्न नसकेर जेल चलान भएका पदम परिवारको आर्थिक लेनदेनको विषयमा प्रधानमन्त्रीका सल्लाहकार पौडेलसँग मनमुटाव रहेको खुलेको हो । तर उनले पौडेलसँगकै रिसईबीले भने प्रचण्डलाई गालामा थप्पड हानेका भने होइनन् ।
पदमका दाजुको ५० हजार रुपैयाँ क्यान्टोन्मेन्टमा हुँदा व्यापार गर्ने भन्दै पौडेलले लिएको र अहिलेसम्म पनि फिर्ता नगरेको स्रोतको दाबी छ । अहिले पदम भने उक्त रकम स–सम्मान फिर्ता गर्न माग गरिरहेको र उक्त रकम फिर्ता नगरे आफू जे गर्न पनि तयार रहेको समेत बताउने गरेको उनी निकट परिवारजनले बताएको छ ।
स्रोतको दाबी अनुसार त्यही पुरानै रिसईबीले गर्दा पनि पदमलाई छुट्ने बेला उनलाई अप्ठ्यारो हुने गरी धरौटी माग गरिएको हो ।
त्यसो त उनका भिनाजु भीम भारतीले समेत उनको परिवारले प्रधानमन्त्रीका सल्लाहकारसँग ५० हजार लिन रहेको बताउने गरेको उल्लेख गरेका छन् ।
को हुन त पदम कुँवर
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई थप्पड हान्ने पदम कुँवर बागलुङको राजकुत-२ कुटनेटाका स्थायी बासिन्दा हुन् ।
माओवादी पूर्व लडाकु तथा पार्टी एक भएको समयमा वाईसीएल गाउँ इन्चार्ज रहेका कुँवर पार्टी विभाजनपछि भने कुनै पनि गुटमा नलागेको बताइएको छ । कुँवरका बाबु प्रेमबहादुरसहित परिवारनै एमाओवादीमा सर्मपित छन् ।
उनका जेठा दाइ सुन्दर र माइली दिदी साधना माओवादीका पूर्णकालिन सदस्य हुन् । पार्टी एक भएको समयमा साधना जिल्ला सचिवालय सदस्य थिइन् । उनले ‘जनयुद्ध’को पूर्ण समय लडेकी थिए भने सुन्दर पनि पूरै समय भूमिगत रुपमा माओवादीमा संलग्न थिए ।
पछिल्लो समयमा साधना काठमाडौँ सरुवा भएको पार्टी स्रोत बताउँछ । त्यस्तै पार्टी विभाजनपछि कुँवर भने जापान जाने तयारी गरी काठमाडौंको याक एण्ड एती होटलमा तालिम लिंदै आएका थिए ।