मंसिर २५ – २८ हजार धरौटी तिर्न नसकेपछि प्रचण्डलाई झाप्पु हान्ने पदम कुँवरलाई जेल चलान गरिएको छ ।
यसअघि झाप्पु खाने प्रचण्डले कुँवरप्रति सहानुभूति प्रकट गर्दै माफी दिएको घोषणा गरिसकेका थिए । प्रचण्डले उनलाई अनुसन्धान सहज ढंगले गरेर अनुसन्धान सिधिन साथ सहज ढ्रगले छोडी दिन आग्रह गरे पनि अहिले भने उनी २८ हजारका कारण जेल पुगेका हुन् ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँले पदमलाई २८ हजार धरौटी माग्दा पदमले तिर्न नसक्दा उनी जेल चलान हुन पुगेका हुन् । तर, प्रचण्डले यसअघि भने झैँ माफी नै दिएको भए उनी बिना धरौटी रिहा हुनुपर्ने हो ।
पदमका आफन्तले पदमलाई कुन जेल चलान गरिएको भनेर आफूलाई थाहा नभएको बताए पनि उनलाई सुन्धारास्थित जगन्नाथ देवल कारागार लगिएको बताइएको छ ।
काठमाडौँ प्रहरी परिसरले दिएको जानकारी अनुसार पदमका भिनाजु भिम भारतीलाई सोमबार महाराजगंजस्थित प्रहरी २ नम्बर गणले फोन गरी बोलाएको थियो ।
महाराजगंजस्थित प्रहरी गण पुगेका पदमका भिनाजुलाई प्रहरीले पदमले प्रयोग गरेका उनका कपडा र अन्य सामान जिम्मा लगाएर पदमलाई २८ हजार धरौटी तिरेर घर लान निर्देशन दिए पनि भिनाजुले तत्काल आफूसँग पैसा नभएको बताएपछि उनलाई जेल चलान गरिएको प्रहरीले बताएको छ ।
भिनाजु भारतीले पनि हेल्लोखबरसँग आफूहरुसँग त्यत्रो रकम नभएको बताए ।
को हुन कुँवर
अध्यक्ष पुष्पकमल दाहाललाई थप्पड हान्ने पदम कुँवर बागलुङको राजकुत-२ कुटनेटाका स्थायी बासिन्दा हुन् ।
माओवादी पूर्व लडाकु तथा पार्टी एक भएको समयमा वाईसीएल गाउँ इन्चार्ज रहेका कुँवर पार्टी विभाजनपछि भने कुनै पनि गुटमा नलागेको छिमेकीले बताए । कुँवरका बाबु प्रेमबहादुरसहित परिवारनै एमाओवादीमा सर्मपित छन् ।
उनका जेठा दाइ सुन्दर र माइली दिदी साधना माओवादीका पूर्णकालिन सदस्य हुन् । पार्टी एक भएको समयमा साधना जिल्ला सचिवालय सदस्य थिइन् । उनले ‘जनयुद्ध’को पूर्ण समय लडेकी थिए भने सुन्दर पनि पूरै समय भूमिगत रुपमा माओवादीमा संलग्न थिए ।
पछिल्लो समयमा साधना काठमाडौँ सरुवा भएको पार्टीका कार्यकर्ताले बताए । त्यस्तै पार्टी विभाजनपछि कुँवर भने जापान जाने तयारी गरी काठमाडौंको याक एण्ड एती होटलमा तालिम लिंदै आएका थिए ।
यो पनि पढ्नुहोस्
विजयकुमारको प्रश्नमा प्रचण्डको उत्तर- ‘पदमप्रति मेरो पूरै माफी'(भिडियो पनि)
कसले र किन हान्यो त प्रचण्डलाई गालामा दह्रो थप्पड (भिडियो पनि)