सन्तोष यादव, मंसिर २५ – मान्छे हराएपछि हजारौँ रुपैयाँ खर्च भएको खबर धेरै सुन्नुभएको होला तर हराएको कुकुर खोज्न सिरहा बस्तीपुरका एक व्यक्तिले रु पाँच हजारभन्दा बढी खर्च गरेका छन् ।

यो बस्तीपुर गाविस ४ का चैतु चौधरीको कथा हो । उहाँको कुकुर यही मङ्सिर १९ गते राति घरबाटै हराएको हो । कुकुर खोज्दा खोज्दै मोटरसाइकल चढेर लहान आइपगेका चौधरीले भने– ‘म मात्र होइन तीन छोरा र एउटा भतिजा पनि हराएको कुकुर खोज्दा खोज्दै हैरान छन् ।’ उनले मोटरसाइकलमा चढेर हराएको कुकुर खोज्दा पेट्रोलमा रु पाँच हजारभन्दा बढी खर्च भएको सुनाए ।

‘राति खाना खाएर सुत्दासम्म कुकुर घरमै थियो” चौधरीले भने, “सुतेर बिहान ४ बजे उठेपछि कुकुर देखिन्न, अनि खोज्न सुरु गरेका छौँ ।” कुकुर फेला पारिदिने व्यक्तिलाई उचित पुरस्कारसमेत दिइने उहाँले बताउनुभयो । चौधरीले पाँच वर्ष अगाडि नवलपरासीबाट भोटे जातको कुकुर रु पाँच हजारमा किन्नुभएको थियो । “घरमा कोही नहुँदा पनि कुकुरले सुरक्षा दिने गथ्र्याे” चौधरीले भने– “कुकुर हराएपछि खानासमेत नरुच्ने भएको छ ।”

चौधरीले कुकुर फेला पारिदिन सप्तरीका एक धामीलाई समेत गुहारेका छन् । उनले धामीकहाँ जाँदा कुकुर लहानमा रहेको भनेपछि उहीँ खोज्न आएको सुनाए । -फोटोः गुगल सर्च


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।