मङ्सिर २५ – पछिल्लो समय जिल्ला अदालत म्याग्दीमा सम्बन्ध विच्छेद गर्नेहरुको सङ््ख्या बढ्दै गएको छ ।


दाम्पत्य जीवन जति रसिलो, कसिलो र विश्वासिलो बन्नुपर्ने हो त्यति बन्न नसकी वैवाहिक जीवनमा बैमनस्यता बढ्दै जाँदा दाम्पत्य जीवनभित्रको सम्बन्ध टाढिँदै घर, परिवार, समाज हुँदै, प्रहरी र अदालतसम्म पुगेर सम्बन्ध विच्छेदको अवस्था सिर्जना हुने गरेको छ ।

म्याग्दी जिल्ला अदालतमा पछिल्लो तीन वर्षको तथ्याङ्कले बर्सेनि सम्बन्ध विच्छेद गर्नेहरुको सङ््ख्या बढ्दो क्रममा देखाएको जिल्ला अदालतका शाखा अधिकृत जगतबहादुर भण्डारीले बताए ।

केही वर्ष अगाडिसम्म न्यून मात्रामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने म्याग्दी जिल्ला अदालतमा आर्थिक वर्ष २०६६÷६७ मा ३५ वटा, २०६७/६८ मा ५६ र २०६८/६९ मा ६८ वटा पुगेको छ ।

अदालतमा दर्ता भएका यी सम्बन्ध विच्छेदका मुद्दामध्ये अधिकांश मुद्दा फैसलासमेत भएका छन् । अहिले चालु आव २०६९/७० को मङ्सिर पहिलो सातासम्म १७ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकामा आठ वटाको फैसला भइसकेको शाखा अधिकृत भण्डारीले जानकारी दिए ।

सम्बन्ध विच्छेद हुनुका कारण विविध भए पनि परम्परागत मूल्य मान्यतामा आएको परिवर्तन र विवाहपछि श्रीमान्–श्रीमतीसँगै नबस्नु र आधुनिक जीवनशैली यसका प्रमुख कारण बनेका छन् ।

समाजमा शिक्षाको स्तर बढेसँगै चेतनाको स्तर वृद्धि हुँदा अन्याय र अत्याचार सहेर नबस्ने भएकाले सम्बन्ध विच्छेद गर्नेको सङ््ख्या बढेको विश्लेषण पनि गरिन थालेको छ ।

आफ्नो चाहनाअनुसारको सम्बन्ध स्थापित गर्नु र सम्बन्ध विच्छेद गर्नु व्यक्तिगत स्वतन्त्रताको कुरा भए पनि यसले प्रत्यक्षरुपमा नेपाली समाजको संस्कृतिमा नै प्रभाव पार्ने समाजशास्त्र विषयका शिक्षक गोरखबहादुर जिसी बताए ।

लोग्ने स्वास्नीबीच मन नमिलेर सँगै बस्न नसक्नुले सम्बन्ध विच्छेदको स्थिति निम्त्याउने भन्दै उनले वैदेशिक रोजगारी, सहरीकरण र औद्योगीकरणको कारण सम्बन्ध विच्छेदको सङ््ख्या बढ्दै गएको जनाए ।

पति पत्नीबीच विश्वास र पारस्परिक सम्बन्ध रहन नसकेको अवस्थामा मात्रै सम्बन्ध विच्छेद गर्न सकिने कानुनी व्यवस्था भएको अधिवक्ता चिरञ्जीवी शर्माको भनाइ छ ।

कहिलेकाहीँ लहैलहै र आर्थिक प्रलोभनमा समेत सम्बन्ध विच्छेद हुने गरेकोतर्फ सङ्केत गर्दै अधिवक्ता शर्माले पति–पत्नीबीच एकले अर्कालाई कुटपिट गरेमा, घर निकाला गरेमा, श्रीमान्ले अर्को श्रीमती ल्याएमा, श्रीमान्ले परस्त्री र श्रीमतीले परपुरुषसँग करणी गरेको प्रष्ट हुन आएमा मात्रै एकले अर्कासँग सम्बन्ध विच्छेद गर्न पाउने बताए । रासस

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।