मङ्सिर २५ – कर्मचारी र प्राध्यापकहरुले गरेको अनिश्चितकालीन हड्तालले गर्दा पूर्वाञ्चल विश्वविद्यालयका १२ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

विश्वविद्यालयका प्राध्यापक र कर्मचारीमध्येबाट रिक्त रजिस्ट्रार पद नियुक्ति गरिनुपर्ने माग गर्दै विगत एक हप्तादेखि कर्मचारी र प्राध्यापकहरुले केन्द्रीय कार्यालयको कामकाज नै ठप्प पारेर आन्दोलन गरिरहेका छन् ।

कामकाज नै ठप्प पारेर विश्वविद्यालयका ४८ जना प्राध्यापक र ३५० कर्मचारी आन्दोलनमा उत्रिएपछि यही मङ्सिर २४ गतेदेखि तय भएको व्यवस्थापन र इन्जिनियरिङ सङ्कायको परीक्षा प्रभावित भएको राससले जनाएको छ । परीक्षा स्थगित हुँदा विश्वविद्यालयका आङ्गिक र सम्बन्धन प्राप्त कलेजहरु स्नातक र स्नातकोत्तर तहका १२ हजार विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरु पनि सबै काम बन्द गरेर आन्दोलनमा सहभागी भएका छन् । जसले गर्दा परीक्षा कार्यालय बन्द भएको छ । केन्द्रीय कार्यालयमा पनि कर्मचारी र प्राध्यापकहरुले तालाबन्दी गरेर धर्ना जारी राखेका छन् ।

परीक्षा सञ्चालन गराउन कर्मचारी र प्राध्यापकहरुसँग वार्ता गरे पनि सफल नभएकाले प्रतिकूल अवस्थामा परीक्षा सञ्चालन गराउन सम्भव नभएकाले परीक्षा तत्काललाई स्थगित गर्नुपरेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यता परीक्षा दिनबाट आफूहरु वञ्चित भएको भन्दै विद्यार्थीले ४८ घन्टाभित्र परीक्षा दिने वातावरण तयार गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् । उनीहरुले आइतबार मोरङका प्रमुख जिल्ला अधिकारी तारानाथ गौतममार्फत ज्ञापनपत्र बुझाएका हुन् ।

परीक्षा दिन नपाए आफूहरु आन्दोलनमा उत्रिने परीक्षा दिनबाट वञ्चित विद्यार्थी गोपाल न्यौपानेले बताए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।